काठमाडौं, ७ वैशाख । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिन सुनिश्चित गर्न उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ।
मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा सोमबार जारी प्रेस वक्तव्यमा मन्त्री पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुन सक्ने उल्लेख गर्दै यसलाई स्वार्थको द्वन्द्वको स्पष्ट उदाहरण भनिएको छ। वक्तव्यमा आफ्नैविरुद्ध छानबिन भइरहँदा पदमा बसिरहनु आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत भएको जिकिर गरिएको छ।
निष्पक्ष न्याय सुनिश्चित गर्न गुरुङको पदत्याग अनिवार्य रहेको मुभमेन्टको भनाइ छ। साथै, मन्त्री नियुक्ति र बर्खास्तीलाई हल्का र अमर्यादित खेल नबनाउन पनि सरकारसँग आग्रह गरिएको छ।
वक्तव्यमा क्याबिनेट गठन जस्तो विषयलाई गम्भीर राजनीतिक र नैतिक निर्णयका रूपमा लिनुपर्ने उल्लेख गर्दै नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाफदेहिता प्रदर्शन गर्नुपर्नेमा जोड दिइएको छ।
“यो कुनै साधारण सरकार होइन, यो ७६ जना शहीदहरूको रक्तबलिदानबाट प्राप्त जनादेशको प्रतिनिधित्व हो,” वक्तव्यमा भनिएको छ, “जनताको त्याग र बलिदानमाथि सस्तो राजनीति गर्ने अधिकार कसैलाई छैन।”
मुभमेन्टले सुशासन, पारदर्शिता र जवाफदेहिताका सवालमा कुनै पनि किसिमको सम्झौता वा ढिलासुस्ती स्वीकार्य नहुने चेतावनी समेत दिएको छ।
विवादास्पद व्यापारी दीपक भट्टसँग गुरुङको साझेदारी रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्री गुरुङ विवादमा परेका छन्।