जनकपुरधाम, १४ साउन । प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामसहित आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बिहीबार दिउँसो ३:३० बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरिएको जानकारी दिए।
प्रशासनका अनुसार जनकपुरधाम उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र, लक्ष्मीनिया गाउँपालिकाका तोकिएका क्षेत्र तथा नगरायन नगरपालिकाका केही क्षेत्रमा कर्फ्यू लागू गरिएको छ।
प्रशासनले सार्वजनिक शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न कर्फ्यू जारी गरिएको जनाएको छ। कर्फ्यू अवधिमा अत्यावश्यक सेवाबाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन तथा सुरक्षा निकायले जारी गर्ने निर्देशनको पूर्ण पालना गर्न आग्रह गरिएको छ।
पछिल्ला केही घण्टायता जनकपुरधाममा प्रदर्शन चर्किँदै गएपछि सम्भावित अप्रिय घटना रोक्न प्रशासनले कर्फ्यूको निर्णय गरेको हो। प्रदर्शनको कारण र पछिल्लो अवस्थाबारे थप विवरण आउन बाँकी छ।
यसैबीच, कर्फ्यू लागू भएसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई प्रभावित क्षेत्रमा परिचालन गरिएको प्रशासनले जनाएको छ।