२०८३ साल साउन २९ गते शुक्रबार

कामै नगरी पाँच लाख भुक्तानी ? उपाध्यक्ष राजुदेवी माथि अनियमितताको आरोप

कृष्ण मण्डल 

राजबिराज, १३ श्रावण । छिन्नमस्ता गाउँपालिकाको पालिकास्तरीय याेजना "ख" अन्तर्गत मर्मत सम्भार योजनाकाे कामै नगरी पाँच लाख रुपैयाँ भुक्तानी गरिएको तथ्य सार्वजनिक भएकाे छ ।

उक्त मर्मतसम्भारकाे काम छिन्नमस्ता गाउँपालिका–३ मा आव ०८२/८३ अन्तर्गत ग्लोबल आइएमई बैंकदेखि पुर्व सखडा चाैक हुँदै लालापट्टी सीमासम्म सडक मर्मत सम्भार कार्यकाे लागि विनियोजित पाँच लाख मध्ये ४ लाख ९१ हजार दुई साय ९० रुपैयाँ दुई पैसा योजनाकाे काम नै नगरी शम्भुनाथ नगरपालिकाकाे एक प्राइभेट कम्पनीको नाममा भुक्तानी गरिएको छ।

उक्त योजना गाउँपालिकास्तरीय योजना "ख" अन्तर्गत सञ्चालन गरिएको हो, जसको जिम्मेवारी गाउँपालिका की उपाध्यक्ष राजु देवी यादवको क्षेत्राअधिकारसँग सम्बन्धित रहेको  छ। 

यही विषयमा वडा नम्बर ३ का वडा अध्यक्ष विजय यादवले भने उक्त योजनाकाे कार्यसम्पन्न भइसकेको बताएका छन्। तर स्थानीय राजनीतिक तथा गाउँपालिका अध्यक्षका प्रत्याशी जयप्रकाश यादवले भने उक्त योजनामा जम्मा दुई ट्र्याक्टर ग्राभेल मात्र खसालिएको दाबी गरेका छन्। उनका अनुसार, "दुई ट्र्याक्टर ग्राभेल मात्रै खसालेर पाँच लाख रुपैयाँ बराबरको काम भएको देखाई भुक्तानी गरिएको छ।"

साथै, उक्त योजना कोटेशन प्रक्रियामार्फत सञ्चालन गरिएको र फर्जी कागजात पेश गरेर भुक्तानी गरिएको हुन सक्ने आरोपसमेत लगाइएको छ। नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले पनि कोटेशन प्रक्रियामा समेत अनियमितता भएको आशंका व्यक्त गरेका छन्।

यता, स्थानीयवासीले अर्को गम्भीर प्रश्न पनि उठाएका छन्। उनीहरूका अनुसार ग्लोबल आइएमई बैंकदेखि सखडा चाैक हुँदै लालापट्टी सिमा सम्मको सडकमा यसअघि नै बहुवर्षीय ठेक्का प्रक्रिया अगाडि बढिसकेको छ भने अधिकांश सडक पहिलेदेखि नै कालोपत्रे रहेको छ। यस्तो अवस्थामा पुनः सोही क्षेत्रमा मर्मत सम्भार शीर्षकमा ४ लाख ९१ हजार बढी रुपैयाँ भुक्तानी गर्नुको औचित्यमाथि समेत प्रश्न उठेको छ।

साथै उपाध्यक्ष स्वयं अनुगमन समितिकाे संयाेजक भएकाले निर्वाचित भए पश्चात् गत आर्थिक वर्ष सम्ममा करिबकरिब ९ करोडौं बढी बजेट पालिका स्तरीय याेजना "ख" मा खर्च गर्दा यसैगरी अनियमितता नहाेला भन्न सकिदैन भनेर पालिका प्रत्यासि उम्मेदवार यादवले आराेप लगाउदै भनेका छन त्यसैले हालसम्म आफुहरुले माग गर्दै आएको सुचना उपलब्ध गराएको छैन । 

यति मात्रै नभई फर्जी कागजात पेश गरी किसानलाई वितरण गरिने मलखादमा समेत उपाध्यक्ष श्रीमान तेजनरायण यादवले  अनियमितता गर्दा ४ दिन देखि छिन्नमस्ता गाउँपालिका ६ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको स्थानीय हबिब मंसुरीले आराेप लगाएका छन ।



प्रतिक्रिया