सर्लाही, २४ फागुन । सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. अमरेशकुमार सिंह प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
सिंहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई १२ हजार ८५७ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। अन्तिम मतपरिणामअनुसार सिंहले ३५ हजार ६८८ मत प्राप्त गर्दा थापाले २२ हजार ८३१ मत पाएका छन्।
यससँगै सिंह लगातार चौथो पटक सर्लाही–४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनी यसअघि दुई पटक नेपाली कांग्रेसबाट तथा २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका थिए।
यसपटक भने रास्वपाबाट उम्मेदवारी दिएका सिंहले अघिल्ला निर्वाचनभन्दा झनै सानदार मतसहित विजय हासिल गरेका हुन्।
सर्लाही–४ मा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरी थापाको पक्षमा माहोल बनाउन सक्रिय हुँदा पनि सिंहले पुनः सांसद बन्न सफल भएका छन्।
अन्तिम मतपरिणाम सार्वजनिक भइसकेपछि निर्वाचन अधिकृतको कार्यालयले सिंहलाई प्रमाण–पत्र प्रदान गर्ने तयारी गरेको छ। क्षेत्र नम्बर–४ को नतिजासँगै सर्लाहीका चारवटै प्रतिनिधि सभा क्षेत्रमा रास्वपाले ‘क्लिन स्वीप’ गरेको छ।