२०८३ साल साउन २९ गते शुक्रबार

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

सिरहा, साउन १४ । जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै गोलबजार नगरपालिकाको केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यू लागू गरिएको हो।

प्रशासनका अनुसार आन्दोलन तथा सम्भावित हुलदङ्गाका कारण शान्ति–सुरक्षामा असर पर्न सक्ने देखिएकाले जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा कर्फ्यू जारी गरिएको हो।

कर्फ्यू गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोकसम्म तथा उत्तरतर्फ वडा नं. ६ को सैनिक चोकदेखि दक्षिणतर्फ वडा नं. ४ स्थित रा.प्र.रा.प्र. बहुमुखी क्याम्पस वरपरको क्षेत्रमा लागू हुनेछ।

जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेशको पूर्ण पालना गर्न सबैसँग आग्रह गरेको छ। आदेशको उल्लङ्घन गरी कुनै पनि गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

प्रशासनले जिल्लाको शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम राख्न नागरिक, राजनीतिक दल, सामाजिक संघसंस्था तथा सबै सरोकारवालाको सहयोगको अपेक्षा समेत गरेको छ।

प्रतिक्रिया