काठमाडौं, ३० फाल्गुन । काठमाडौं महानगरपालिकाले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेमाथि निगरानी बढाएको छ।
महानगरका प्रशासन विभाग प्रमुख महेश काफ्लेका अनुसार ग्यास हुँदाहुँदै उपभोक्तालाई नदिने, अभावको हल्ला फैलाएर बढी मूल्य लिने तथा इन्धन डिपोमा मौज्दात हुँदाहुँदै उपभोक्तालाई फर्काउने जस्ता गुनासा आएपछि निगरानी सक्रिय बनाइएको हो।
नेपाल आयल निगमले ग्यासको मूल्य प्रति सिलिन्डर ९५५ रुपैयाँ तोकेको छ। महानगरले यही मूल्यमा ग्यास बिक्री गर्न व्यवसायीलाई आग्रह गरेको छ।
महानगरले उपभोक्तालाई पनि आवश्यकभन्दा बढी ग्यास भण्डारण नगर्न अनुरोध गरेको छ। ग्यास वा इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने गतिविधि देखिएमा महानगरको हटलाइन नम्बर ११८० मा तुरुन्त सूचना दिन सकिने व्यवस्था गरिएको छ।