२०८२ साल ब‌ैशाख ३१ गते बुधबार

सप्तरीमा बर्षाको कारण २५ घर डुबानमा

राजबिराज, २३ श्रावण । लगातार २ दिन देखि भएको अविरल बर्षाको कारण सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ३ सकरपुरा डुबानमा परेको छ । 

वर्षाको पानीको निकास नहुदाँ तिलाठी कोइलाडी गाँउपालिकाको वडा नम्बर ३ सकरपुराको राजपुत टोल र राम टोलको २५ भन्दा बढी घरहरु डुबानमा परेको छ । बर्षाको पानीसँगै वस्तीदेखि पश्चिम र उत्तरतर्फका खेतहरुबाट आउने पानीले बस्ती डुबानमा परेको हो । सकरपुरा बस्ती होचो भागमा रहेकोले बर्षाको पानी र खेतबाट आउने पानीको कारण बर्सेनी डुबानमा पर्दै आएको छ । पानीको उचित निकास नरहेकोले बर्षा हुँदा वस्ती नै डुबानमा पर्दै आएको छ ।

बर्षाको पानी भेल जस्तै बग्न थालेपछि राम टोल र राजपुत टोलका फुसका घरहरुमा समेत क्षति पुगेको छ । राजपुत टोलका डोमा भनिने राम सुन्दर मालीको घरको टाटी भत्किएको छ । बाढीको भेलले सो ठाउँका बासिन्दाहरुको घर समेत जोखिममा परेपछि स्थानीयहरुले घर कटानलाई नियन्त्रण गरेका छन् । 

यसैबीच तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, वडा अध्यक्ष रमेश मुखिया, विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, सामाजिक विकास शाखाका किशोर कुमार झा सहितको टोलीले स्थलगत अवलोकन गर्नुभएको छ । यस अघि मधेश प्रदेश सभाका सदस्य सतिश कुमार सिंहले समेत स्थलगत निरीक्षण गर्नुभएको थियो ।


प्रतिक्रिया