राजविराज, १३ असोज । बडा दशैंको अवसरमा सप्तरीका शक्तिपीठहरु भक्तजनले भरिभराउ भएका छन् । आज सप्तमीकाे बिहानैदेखि श्रद्धालु भक्तजनहरु पूजा–अर्चना तथा दर्शनका लागि शक्तिपीठमा लामबद्ध भइरहेका छन् ।
विशेष गरी छिन्नमस्ता भगवती मन्दिर, भारदह स्थित कंकालनी भगवती मन्दिर, राजविराजस्थित राजदेवी मन्दिर, भगवती मन्दिर, हनुमाननगरस्थित भगवतीस्थानलगायतका शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ । दशैंमा माता भगवतीको दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ ।
छिन्नमस्ता मन्दिर परिसरमा भक्तजनलाई सहजतापूर्वक दर्शन गर्न सहयोग पुर्याउन सुरक्षाकर्मीको विशेष व्यवस्था मिलाइएको छ भने मन्दिर समितिले निशुल्क खानाको पनि व्यवस्था गरिएको छिन्नमस्ता मन्दिरकाे मुलपुजारी भुवन ठाकुरले जानकारी दिएको छ । यसैगरी मन्दिर व्यवस्थापन समितिहरुले विशेष सजावटका साथ पूजाआजा भईरहेकाे छ ।
मन्दिर परिसरमा भक्तजनहरुलाई निशुल्क सरबत पानी जनहीत नागरिक समाजले उपलब्ध गराउदै आएको छ भने रातीमा जागरण लगायतका मनाेरञ्जनात्क तथा भक्ति कार्यक्रमहरुकाे आयोजना गरिएको छ ।
भक्तजनहरुले शक्तिपीठमा पूजाअर्चना गर्दै आफ्नो र परिवारको सुख–शान्ति, समृद्धि र रोग–व्याधिको नाश होस् भन्ने कामना गरेका छन् ।