२०८३ साल जेठ २ गते शनिवार

छुट्टाछुट्टै स्थानमा दुई महिला झुण्डिएको अवस्थामा मृत फेला

राजबिराज, १ फाल्गुन । सप्तरीकाे दुई छुट्टाछुट्टै स्थानमा चार घण्टाको अन्तरालमा सप्तरीको खडक नगरपालिका र कञ्चनरुप नगरपालिकामा दुई महिला झुण्डिएको अवस्थामा मृत फेला परेको छ ।

आईतवार मध्यराती सप्तरीकोको खडक नगरपालिका ९ लालपट्टि बस्ने ४५ वर्षिया मिना कुमारी चौधरी आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेको घटना सेलाउन नपाउँदै सोमवार एकाबिहानै सप्तरीको कञ्चनरुप नगरपालिका ९ स्थित आँप बगैचामा सोही वडा निवासी ५८ वर्षिया शान्ता भुजेल आँपको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन ।

शान्ताका पति भीम बहादुर भुजेलले श्रीमती आँपको रुखमा झुण्डिएको अवस्थामा फेला परेको थाहा पाए लगतै प्रहरीलाई खबर गरेका थिए । यस्तै मिनाका श्रीमान भोटे चौधरीले पनि श्रीमती सुत्ने कोठामा बाँसको बलाे(घरेन)मा प्लास्टिकको डोरीमा झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

दुवै शव प्रहरीले नियन्त्रणमा लिई पोष्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पठाएको छ । सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले दुवै जनाले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखिएको बताउनु भयो ।  यद्यपी आत्महत्याको कारण भने खुल्न नसकेको र यसबारे थप अनुसन्धान कार्य भइरहेको उहाँले बताउनु भयो ।

स्थानीयवासीका अनुसार मिना ऋणको बोझ तथा शान्ता पारिवारिक समस्याले आत्महत्या गरेको बताइरहेका छन् ।

 त्यसैगरी जिल्लामा तीन साता अघि मात्रै छोराको विवाह गर्दा लागेको ऋण तिर्न नसक्दा सप्तरीको छिन्नमस्ता गाउँपालिका २ का ४५ वर्षिय रामदेव मरिक रुखमा झुण्डिएर आत्महत्या गरेका थिए ।

त्यसको ७ दिनपछि सोही गाउँपालिकाका वडा ६ का २१ वर्षिय महेन्द्र मण्डलले पनि घरायसी समस्यले रुखमा झुण्डिएर आत्महत्या गरेका थिए ।

जिविकोपार्जनका धेरै प्रयास असफल भएपछि जिल्लामा आत्महत्याका एकपछि अर्को घटना ह्वातै बढ्न थालेका छन् ।  जिल्लामा गत आ.व. २०७७÷०७८ मा झुण्डिएर, विष सेवन गरेर र आगो लगाएर १ सय १५ जनाले ज्यान गुमाएका थिए भने २०७८÷०७९ मा १ सय ३६ जनाले आत्महत्या गरेको पाइएको छ । 

यस्तै चालु आ.व. २०७९÷०८० को हालसम्मको अवधिमा विषसेवन र झुण्डिएर ६० जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ । वैदेशिक रोजगारी, व्यापार, व्यवसाय र घरेलु उत्पादन लगायतका अनेक उद्यम गर्दा पनि उल्टै ऋणमा डुबेर कतिपयले मृत्यु नै अन्तिम विकल्प ठान्ने गरेका छन् भने कतिपय शिक्षामा असफलता, प्रेम सम्बन्ध, पारिवारिक वातावरण, घरायसी तनाव, बेरोजगारी लगायतका कारणले पनि यस्तो बाटो रोज्न बाध्य भइरहेको विशलेषकहरुले बताउँछन् । यसलाई नियन्त्रण गर्न सरकार र सबै सरोकारवाला गम्भिरताका साथ सोच्नै पर्ने उनीहरुको सुझाव समेत रहेको छ । 

प्रतिक्रिया