कृष्ण मण्डल
राजविराज, २९ माघ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकन प्रतिवेदनअनुसार सप्तरी जिल्लाका १८ स्थानीय तहमध्ये सुरुङ्गा नगरपालिका ६५.३८ अंकसहित पहिलो स्थानमा परेको छ।
प्रतिवेदनअनुसार तिलाठी कोइलाडी गाउँपालिका ६३.२३ अंकसहित दोस्रो स्थानमा रहेको छ भने राजगढ गाउँपालिका ५६.८२ अंकसहित तेस्रो स्थान हासिल गरेको छ। सप्तकोशी नगरपालिका ५२.४७ अंकसहित चौथो स्थानमा देखिएको छ।
त्यसैगरी विष्णुपुर गाउँपालिका ४७.८६ अंक, छिन्नमस्ता गाउँपालिका ४७.१७ अंक, हनुमाननगर कंकालिनी नगरपालिका ४६.६४ अंक, बलान बिहुल गाउँपालिका ४६.३१ अंक तथा तिरहुत गाउँपालिका ४२.९४ अंक प्राप्त गरेका छन्। डाक्नेश्वरी नगरपालिका ४२.१९ अंकमा सीमित भएको प्रतिवेदनमा उल्लेख छ।
अन्य पालिकाहरू—कञ्चनरुप नगरपालिका, अग्निसाइर कृष्णासवरन गाउँपालिका, रुपनी गाउँपालिका, शम्भुनाथ नगरपालिका, खडक नगरपालिका, बोदेबरसाइन नगरपालिका, राजविराज नगरपालिका, महादेवा गाउँपालिका लगायत—को हकमा विभिन्न सूचकका आधारमा अझै सुधार आवश्यक रहेको औंल्याइएको छ।
आयोगले वित्तीय अनुशासन, बेरुजु फर्छ्यौटको अवस्था, आन्तरिक नियन्त्रण प्रणाली, योजना कार्यान्वयन क्षमता, राजस्व संकलन, खर्च व्यवस्थापन तथा प्रतिवेदन प्रणालीजस्ता सूचकका आधारमा मूल्यांकन गरेको जनाएको छ। प्रतिवेदनले अधिकांश स्थानीय तहमा आन्तरिक नियन्त्रण सुदृढीकरण, बेरुजु न्यूनीकरण र पारदर्शिता अभिवृद्धिमा थप प्रयास आवश्यक रहेको देखाएको छ।
यता सुरुङ्गा नगरपालिकाकी मेयर गीता चौधरीले नगरपालिकालाई जिल्लामा अब्बल बनाउन सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी र नगरवासीलाई धन्यवाद दिएकी छन्। बिहीबार बेलुका सामाजिक सञ्जाल फेसबुकमार्फत् पोस्ट गर्दै उनले प्राप्त उपलब्धिलाई आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाहतर्फ रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।