२०८३ साल साउन २९ गते शुक्रबार

चन्द्रपुरको कुर्सी लडाइँमा प्रशासन बन्धक

रौतहट, साउन २९ । चन्द्रपुर नगरपालिकामा नगर प्रमुख सञ्जयकुमार काफ्ले र प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालबीच देखिएको टकराव अब व्यक्तिगत विवादमा सीमित नरही नगरको प्रशासनिक प्रणालीमै असर पार्ने अवस्थामा पुगेको छ।

मेयर काफ्लेले सार्वजनिक कार्यक्रममा ढकाललाई सक्षम र योग्य कर्मचारीका रूपमा प्रशंसा गरेको केही दिनमै मन्त्रालयमा उनको सरुवा माग्दै पत्र पठाएको तथ्य बाहिरिएपछि नगर नेतृत्वमाथि नैतिक र प्रशासनिक प्रश्न उठेको छ। सार्वजनिक अभिव्यक्ति र मन्त्रालयमा पठाइएको पत्रबीचको विरोधाभासले विवादलाई थप गहिरो बनाएको हो।

मन्त्रालयमा पठाइएको पत्रमा अधिकृत ढकालमाथि जनप्रतिनिधि र कर्मचारीबीच समन्वय गर्न नसकेको तथा कार्यसम्पादन सन्तोषजनक नभएको आरोप लगाइएको छ। तर पत्रकार सम्मेलनमा भने मेयरले आफू र अधिकृतबीच कुनै समस्या नरहेको दाबी गरेका थिए।

नगर स्रोतका अनुसार ढकालले जिम्मेवारी सम्हालेपछि इन्धन, विविध खर्च तथा अन्य आर्थिक गतिविधिमा कडाइ गरेका थिए। नगरपालिकाको स्रोत र साधनको प्रयोगमा नियन्त्रण बढेपछि नेतृत्व र प्रशासनबीच दूरी बढ्दै गएको स्रोतको दाबी छ।

यही विवादका कारण केही कर्मचारीमाथि दबाब सिर्जना गर्ने, कार्यालयको वातावरण बिगार्ने र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध गतिविधि सञ्चालन गर्ने गरेको आरोपसमेत लागेको छ। यस्ता आरोपबारे सम्बन्धित पक्षको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी छ।

नगरपालिकाको खाता सञ्चालन र निर्णय प्रक्रियामा देखिएको अन्योलले समस्या झन् गम्भीर बनाएको छ। अत्यावश्यक खरिद, विपद् व्यवस्थापन, कर्मचारी तथा शिक्षकको पारिश्रमिक र अन्य नियमित काम प्रभावित हुनसक्ने अवस्था बनेको बताइएको छ।

नगरपालिकाभित्रको विवाद समाधानका लागि उपप्रमुख तथा केही वडाध्यक्षले पहल गरे पनि नेतृत्वबीच सहमति जुट्न सकेको छैन। विकास र सेवा प्रवाहको जिम्मेवारी बोकेको स्थानीय सरकार आन्तरिक शक्ति संघर्षमा अल्झिँदा यसको प्रत्यक्ष असर सेवाग्राहीमाथि पर्ने चिन्ता बढेको छ।

प्रतिक्रिया