२०८३ साल ब‌ैशाख १६ गते बुधबार

इन्धनको मूल्य फेरि बढ्यो: पेट्रोलमा १५ र डिजेल/मट्टितेलमा १० रुपैयाँ वृद्धि

काठमाडौं, १ चैत । नेपाल आयल निगम लिमिटेड ले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल/मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ बढाएको हो।

नयाँ खुद्रा बिक्री मूल्य २०८२ चैत २ गते बिहान ००:०१ बजेदेखि लागू भएको निगमले जनाएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै इन्धन आपूर्ति गर्ने इन्डियन आयल कर्पोरेसन बाट प्राप्त नयाँ दरका कारण मूल्य समायोजन गर्नुपरेको हो। बढेको मूल्य समायोजन नगरे निगमले इन्धन खरिदबापत तिर्नुपर्ने बक्यौता भुक्तानी गर्न कठिन हुने र त्यसले देशको आपूर्ति प्रणालीमा अवरोध सिर्जना गर्न सक्ने अवस्था देखिएको निगमले जनाएको छ।

निगमले आम उपभोक्तामाथि पर्ने असरलाई ध्यानमा राख्दै विशेष गरी सार्वजनिक सवारीसाधन तथा ढुवानीमा प्रयोग हुने डिजेलको मूल्य अत्यधिक नबढाउने नीति अपनाएको जनाएको छ। अन्तर्राष्ट्रिय बजारअनुसार प्राप्त दर पूर्ण रूपमा लागू नगरी केही भार मूल्य स्थिरीकरण कोष बाट व्यहोर्ने गरी मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य पहिलो वर्गमा प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १७१ रुपैयाँ र तेस्रो वर्गमा १७२ रुपैयाँ कायम गरिएको छ। त्यसैगरी डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गमा १४९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५१ रुपैयाँ र तेस्रो वर्गमा १५२ रुपैयाँ तोकिएको छ।

निगमका अनुसार पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ रहेका छन् भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल समावेश गरिएको छ।

निगमका अनुसार हालको मूल्य वृद्धि पश्चात पनि संस्थालाई पाक्षिक रूपमा करिब ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नेबित्तिकै तत्काल मूल्य घटाउने रणनीति अपनाइने निगमले जनाएको छ। साथै निगमले वर्तमान परिस्थितिमा उपभोक्ता तथा सरोकारवालासँग सहयोगको अपिल गरेको छ।

प्रतिक्रिया