राजबिराज, २३ मंसिर । साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम चारमा पुगेको हो ।
एजुकेसन सिटी स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटको अतिरिक्त समयको खेल १/१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।
पेनाल्टीमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच, मिस्लाभ ओर्सिचले गोल गरे ।ब्राजिलका क्यासिमेरो र पेड्रोले गोल गरे । तर, रोड्रिगो र मार्क्विन्होस पेनाल्टीमा गोल गर्न चुके ।