राजबिराज, १० वैशाख । नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा देखिएको बेथिति, मनोमानी, दमन तथा अपारदर्शिताविरुद्ध सह–सचिव कृष्ण कुमार मण्डल धानुकद्वारा सुरु गरिएको धर्ना दोस्रो दिनमा प्रवेश गरेको छ।
सहसचिवले राखेका विभिन्न ८ सुत्रीय मागहरू सम्बोधन नभएपछि आन्दोलनलाई निरन्तरता दिइएको हो। यसैबीच, मधेस प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह धर्ना स्थलमै पुगेर मण्डलसँग भेट गरेका छन्।
भेटका क्रममा उनले महासंघका पदाधिकारी नै धर्नामा बस्नुपर्ने अवस्था आउनु दुःखद भएको टिप्पणी गर्दै समस्या तत्काल वार्ता र संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
धर्नाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पूर्वमन्त्री साहले प्रस्तुत मागहरूलाई यथोचित रूपमा सम्बोधन गर्न नेपाल पत्रकार महासंघ सप्तरी शाखालाई आग्रह गरेका छन्। साथै, पत्रकारहरूको हकहित, पारदर्शिता र विधिसम्मत सञ्चालनका पक्षमा उठाइएको आवाजलाई उचित रहेको बताएका छन्।
त्यसैगरी, जसपा नेपालका नेता सुनिल कुमार झा तथा युवा नेता बसन्त यादव लगायतले पनि पत्रकार आफैं पीडित हुँदा समस्या समाधान कसले गर्ने भन्ने प्रश्न उठाउँदै तत्काल वार्ता र संवादमार्फत समस्या समाधान गर्न महासंघसँग आग्रह गरेका छन्।
धर्नामा “पत्रकारको आवाज दबिन्न” लगायतका नारासहित पारदर्शिता, सुशासन र जवाफदेही नेतृत्वको माग दोहोर्याइएको छ।