राजविराज, २८ माघ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राज्यबाट सधैं उपेक्षित हुँदै आएको मधेश र मधेशी समुदायले कहिले न्याय पाउने भन्दै मुलुकका नेतृत्वकर्ता राजनीतिक दलहरूसँग प्रश्न गर्नुभएको छ।
बुधबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मधेशको जनसंख्या करिब ६० प्रतिशत भए पनि त्यसअनुसार संसदमा प्रतिनिधित्व नहुनु गम्भीर अन्याय भएको बताउनुभयो। जनसंख्याको अनुपातमा प्रतिनिधित्व नपाउँदा मधेशले निरन्तर अपमान र विभेद सहनुपरेको उहाँको गुनासो थियो।
मधेश विद्रोहदेखि नै जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने माग गर्दै आएको उल्लेख गर्दै उहाँले शासकवर्गले त्यसविपरीत नीति अपनाउँदा मधेशले न्याय नपाएको दाबी गर्नुभयो।
अध्यक्ष यादवले अहिलेको युगमा राज्यले नागरिकलाई शिक्षा, स्वास्थ्य, रोजगारी र कानुनी सहायताको सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभयो। हाल कायम सात प्रदेश संरचना अव्यवहारिक रहेको उल्लेख गर्दै उहाँले प्रदेशलाई अधिकार नदिई संघीयता कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाउनुभयो।
संघीय गणतन्त्रलाई सुदृढ बनाउनु, समानुपातिक समावेशी प्रतिनिधित्व विस्तार गर्नु र त्यसका लागि संविधान संशोधन आवश्यक रहेको उहाँको स्पष्ट धारणा थियो।
प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहनुभएका यादवले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले राजविराजमा आयोजित रोड शोका क्रममा मधेशका नेता गजेन्द्रनारायण सिंहको सालिकमा माला फ्याँकेको घटनालाई “अराजनीतिक र असंवेदनशील” कार्यको संज्ञा दिनुभयो।