२०८३ साल ब‌ैशाख ६ गते अाईतबार

भूमि विधेयक मधेसकाे लागि खतरनाक : अध्यक्ष त्रिपाठी

राजविराज, १७ भदौ । संयुक्त लोकतान्त्रिक मोर्चाका घटक जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले हाल प्रस्तावित भूमि विधेयक मधेशका लागि खतरनाक हुने चेतावनी दिनुभएको छ ।

मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अव्यवस्थित बसोबासीलाई चुरे क्षेत्रमा वैधानिकता दिने नाममा लालपुर्जा वितरण गरे मधेश भविष्यमा मरूभूमिमा परिणत हुने दाबी गर्नुभयो ।

अध्यक्ष त्रिपाठीले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा तत्कालीन सचिव रामेश्वर खनालले तयार पारेको प्रतिवेदनलाई आधार मानी चुरे क्षेत्रमा बसोबास गरिरहेका करिब ४२ हजार परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्न सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले अव्यवस्थित बसोबासीलाई वैधानिकता दिने कुरा वन, आरक्ष, मध्यवर्ती क्षेत्र र चुरेको विनाशलाई प्रोत्साहन गर्ने कदम भएको उल्लेख गर्दै मधेशमा पानीको गम्भीर समस्या चुरे विनाशकै कारण उत्पन्न भएको तर्क गर्नुभयो ।

त्रिपाठीले कुनै पनि हालतमा अव्यवस्थित बसोबासीलाई चुरेको जमिनमा लालपुर्जा दिन नहुने स्पष्ट धारणा राख्दै तराई–मधेशलाई भविष्यमा मरूभूमिकरण हुनबाट जोगाउन सरकारलाई सचेत रहन आग्रह गर्नुभयो ।

प्रतिक्रिया