२०८३ साल असार १६ गते मङ्गलबार

बालेनअनुपस्थित कार्यक्रममा रवि लामिछानेको गुटबन्दीविरुद्ध कडा चेतावनी

काठमाडौँ, ४ चैत । प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुई तिहाइ बहुमत हासिल गर्दै नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र शीर्ष नेतृत्वबीच सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको छ।

नवनिर्वाचित सांसदहरूका लागि ललितपुरको ग्वार्कोमा आयोजित दुईदिने अभिमुखीकरण कार्यक्रममा वरिष्ठ नेता बालेन शाह अनुपस्थित रहेपछि पार्टीभित्र शक्ति सन्तुलन र नेतृत्वबारे प्रश्न उठ्न थालेका हुन्। कार्यक्रमको समापनमा भने सभापति रवि लामिछाने सहभागी हुँदै गुटबन्दीविरुद्ध कडा चेतावनी दिएका थिए।

समापन मन्तव्यमा लामिछानेले पार्टीभित्र ‘म केन्द्रित राजनीति’ हावी हुन नदिन आग्रह गर्दै स्वार्थ समूह, विचौलिया र गुटगत सोचबाट टाढा रहन निर्देशन दिए। उनले गुटबन्दीले पार्टीलाई कमजोर बनाउने मात्र नभई पुराना दललाई फाइदा पुग्ने बताएका थिए।
यद्यपि, पार्टीका प्रवक्ता मनिष झाले बालेनको अनुपस्थितिलाई स्वास्थ्य अवस्थासँग जोड्दै कुनै राजनीतिक अर्थ नराख्न आग्रह गरेका छन्। सचिवालय सदस्य गणेश पराजुलीले पनि स्वास्थ्य तथा आगामी सरकार सञ्चालनको रणनीति तयारीका कारण कार्यक्रममा सहभागी नभएको बताएका छन्।

तर, पछिल्लो समय सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा पार्टीभित्र स्पष्ट धारणा सार्वजनिक नभएको र केही नेताहरूले फरक–फरक संकेत दिएका कारण राजनीतिक वृत्तमा चासो बढेको छ। उपसभापति डोलप्रसाद अर्याल लगायत नेताहरूले पनि यसबारे स्पष्ट जवाफ दिएका छैनन्।
विश्लेषकहरूका अनुसार, ठूलो जनमत प्राप्त गरेपछि पार्टीभित्र आन्तरिक एकता कायम राख्नु नै सबैभन्दा ठूलो चुनौती हुनेछ। विगतमा पनि बहुमत प्राप्त सरकारहरू पार्टी–सरकार सम्बन्ध सन्तुलन गर्न नसक्दा विघटन भएका उदाहरण उल्लेख गर्दै उनीहरूले रास्वपालाई सचेत रहन सुझाव दिएका छन्।
अब रास्वपाका लागि सरकार गठनसँगै आन्तरिक एकता कायम राख्दै जनताले दिएको विश्वास जोगाउनु मुख्य परीक्षा बन्ने देखिएको छ।

प्रतिक्रिया