राजबिराज, २८ कार्तिक । आसन प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनअन्तर्गत सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३ मा पनि कडा प्रतिस्पर्धा देखिएको छ ।
यस क्षेत्रमा बामलोकतान्त्रिक गठबन्धनबाट लोसपा अलग्गिएर चुनाव लडेपछि तीन पक्षबिच प्रतिस्पर्धा हुने भएको छ ।
सप्तरीको ३ नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ ३ को (ख) मा क्रमश लक्ष्मीकान्त मण्डल र गजेन्द्रकुमार मण्डल लोसपाबाट छुट्टै उम्मेदवार भई चुनावी प्रतिस्पर्धामा छन् ।
यो क्षेत्रमा प्रतिनिधी सभातर्फ जसपा-एमालेबाट एमालेका ताराकान्त चौधरी तथा प्रदेश सभातर्फ (क) मा एमालेकै जोगेन्द्र भगत र (ख) मा जसपाका बिदेश्वर यादव चुनावी प्रतिस्पर्धामा छन् ।
यस्तै बाम लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका केन्द्रीय सदस्य दिनेशकुमार यादव प्रतिनिधि सभा सदस्यमा तथा प्रदेश सभातर्फ (क) मा काँग्रेसकै मोहम्मद समिम र (ख) मा भगवती यादव छन् ।
यसरी हेर्दा सप्तरीको ३ नम्बर निर्वाचन क्षेत्रमा चार पक्षबिच प्रतिस्पर्धा हुने निश्चित देखिएको छ ।लोसपाबाट प्रतिनिधि सभातर्फ उम्मेदवार भएका लक्ष्मीकान्त मण्डल पेशाले इन्जिनियर हुन् । उनले आफुसँग क्षेत्रको विकाससँगै रोजगारीको अवधारणा रहेको दाबी गरेका छन् ।
यही क्षेत्रको प्रदेश सभा क तर्फ अघिल्लो निर्वाचनमा काँग्रेस विजयी भए पनि पछिल्लो १५ वर्षदेखि यस क्षेत्रमा कुनै किसिमको काम हुन नसकेको तत्कालीन जिविस सप्तरीका सभापति समेत रहेका प्रतिनिधि सभातर्फका काँग्रेसकै उम्मेदवारको भनाई छ । यता मधेस प्रदेश सभा सदस्यका नयाँ उम्मेदवारहरू सडक, सिँचाइ, कृषि जस्ता जनताका समस्या समाधान गर्ने प्रतिबद्धता मतदातासमक्ष गरिरहेका छन् भने सोही पदमा दोहर्याउनेहरुले अधुरा कामलाई पूरा गर्ने बाचा गर्दै छन् ।
तर, मतदाताले भने सबै नेताहरूको आश्वासन एकै खालको हुने गरेको र जितेर गएपछि फर्केर आउने नगरेको गुनासो गरेका छन् । उनीहरुले सुख दुखमा साथ दिने र रोजगारीको व्यवस्था गर्नेलाई मत दिने बताउँछन् ।
सप्तरीको ३ नम्बर निर्वाचन क्षेत्रमा डाँक्नेश्वरी र शम्भुनाथ नगरपालिका तथा रुपनी, बिष्णुपुर र राजगढ गाउँपालिका पर्दछ । यो पाँचै तहको स्थानीय चुनावको मत हेर्ने हो भने सब भन्दा बढी एमाले-जसपा-राप्रपा तालमेलको मत ३४ हजार ८ सय ३५, दोस्रोमा बाम लोकतान्त्रिक गठबन्धनको मत २८ हजार ३ सय तथा लोसपाको मत ७ हजार ७ सय २९ छन ।