काठमाडौं, १३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नयाँ मन्त्रिपरिषद् गठन गर्नुभएको छ। नवगठित मन्त्रिपरिषद्को नेतृत्व बालेन्द्र शाहले सम्हाल्नुभएको छ।
राष्ट्रपतिको कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री शाहले रक्षा तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ। मन्त्रिपरिषद्मा स्वर्णिम वाग्ले अर्थमन्त्री नियुक्त हुँदा सुधन गुरुङ गृहमन्त्री र शिशिर खनाल परराष्ट्रमन्त्री बन्नुभएको छ।
त्यस्तै, सुनिल लम्साललाई भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय, विराज भक्त श्रेष्ठलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, खडक राज पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनको जिम्मेवारी दिइएको छ।
यसैगरी, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री र डा. विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त हुनुभएको छ।
त्यस्तै, प्रतिभा रावल सङ्घीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सोविता गौतम कानून, न्याय तथा संसदीय मामिला, गीता चौधरी कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण, दिपक कुमार साह श्रम, रोजगार तथा सामाजिक सुरक्षा तथा सीता बादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्नुभएको छ।
यसैबीच, राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्री शाहले संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सोही अवसरमा नवनियुक्त मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्।
नयाँ मन्त्रिपरिषद् गठनसँगै देशमा नयाँ सरकारको औपचारिक सुरुवात भएको छ।