काठमाडौं, ७ वैशाख । जेनजी आन्दोलनपछि गृहमन्त्री सुधन गुरूङले धितोपत्र बजारमा ५० लाख रुपैयाँभन्दा बढीको सेयर खरिद गरेको तथ्य सार्वजनिक भएको छ।
उपलब्ध विवरणअनुसार उनले २०८२ माघ १५ देखि चैत ८ सम्म करिब ५३ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारबाट किनेका हुन्।
गुरूङले गृहमन्त्री नियुक्त हुनुभन्दा केही दिनअघिसम्म पनि सेयर खरिद जारी राखेको देखिन्छ। उनी फागुन २१ को निर्वाचनपछि चैत १३ मा सरकार गठनसँगै गृहमन्त्री बनेका थिए।
प्राप्त विवरणअनुसार गुरूङले करिब १० पटकमा सेयर खरिद गरेका छन्। माघ १५ गते पहिलो पटक करिब ७ लाख ९० हजार रुपैयाँको सेयर किनेका उनले सोही दिन थप ७ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर खरिद गरेका थिए। त्यसपछि माघ २७ गते १६ लाखभन्दा बढीको सेयर किनेका छन्।
चैत ८ गते, गृहमन्त्री बन्नुभन्दा पाँच दिनअघि, उनले एकै दिन ७ पटक कारोबार गर्दै ९ लाख १५ हजारदेखि साना–ठूला विभिन्न रकममा सेयर खरिद गरेका थिए।
स्रोतका अनुसार उनले यी सबै कारोबार ‘नासा सेक्युरिटिज’ नामक ब्रोकर कम्पनीमार्फत गरेका हुन् र अधिकांश सेयर एउटै कम्पनी—एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड इन्भेस्टमेन्ट लिमिटेड—को रहेको बताइएको छ।
यसैबीच, सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका दीपक भट्ट समूहसँग सम्बन्धित कम्तिमा दुई लघु बीमा कम्पनीमा पनि गुरूङको ५० लाख रुपैयाँ बराबरको संस्थापक सेयर रहेको खुलेको छ। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्समा उनले २५–२५ लाख रुपैयाँ लगानी गरेको विवरण सार्वजनिक भइसकेको छ।
गुरूङले गृहमन्त्रीका रूपमा सार्वजनिक गरेको सम्पत्ति विवरणमा भने सबै सेयरको विस्तृत जानकारी नखुलाइएको देखिएको छ। उनले स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूमा २ करोड ७४ लाख रुपैयाँभन्दा बढीको सेयर रहेको उल्लेख गरे पनि कुन–कुन कम्पनीमा लगानी गरिएको हो भन्ने खुलाएका छैनन्।
यस विषयमा प्रतिक्रिया लिन गुरूङसँग सम्पर्क गर्ने प्रयास भए पनि उनी सम्पर्कमा आएका छैनन्। उनलाई सेयर खरिदको स्रोत, दीपक भट्टसँगको सम्बन्ध र सम्पत्ति विवरणबारे पाँच बुँदे प्रश्न पठाइए पनि जवाफ प्राप्त हुन सकेको छैन।
गुरूङले भने यसअघि आफ्नो लगानी व्यवसाय, पैतृक सम्पत्ति र वैधानिक आम्दानीबाट आएको दाबी गर्दै आएका छन्।