२०८३ साल ब‌ैशाख ३२ गते शुक्रबार

शिक्षालय र कर्मचारीतन्त्रमा दलगत राजनीति निषेध आवश्यक : प्रधानमन्त्री बालेन साह

काठमाडौं, २२ वैशाख । प्रधानमन्त्री बालेन साहले शिक्षालय र कर्मचारीतन्त्रमा बढ्दो दलगत प्रभाव अन्त्य गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले विद्यार्थी र कर्मचारी क्षेत्र लामो समयदेखि पार्टीकरणका कारण कमजोर बन्दै गएको उल्लेख गरेका छन्। उनका अनुसार धेरै संगठनहरू सम्बन्धित क्षेत्रको हितभन्दा बढी राजनीतिक दलका “स्लिपर सेल” जस्तै बनेका छन्।

योग्यता र क्षमताभन्दा पहुँच र राजनीतिक झण्डाको आधारमा अवसर वितरण हुने प्रवृत्तिले समग्र प्रणालीप्रति जनविश्वास कमजोर बनाएको उनको भनाइ छ।

प्रधानमन्त्री साहले शिक्षालयमा दलगत झण्डा र कर्मचारीतन्त्रमा “झोला संस्कृति” अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। यसले अधिकार खोस्ने नभई पेशागत स्वतन्त्रता मजबुत बनाउने उनले स्पष्ट पारेका छन्। साथै, नियुक्ति, सरुवा र बढुवामा दलगत निकटता होइन, विधि, क्षमता र दक्षतालाई आधार बनाउनुपर्ने उनले बताएका छन्।

उनले विद्यार्थीले राजनीति सिक्नुपर्ने भए पनि त्यो सभ्य, विचारशील र जिम्मेवार ढंगले हुनुपर्ने तथा कर्मचारीले कुनै दल होइन, जनताको सेवा गर्नुपर्नेमा जोड दिएका छन्।

प्रधानमन्त्री साहका अनुसार यो कदम कुनै दलविरुद्ध नभई प्रणाली सुधार, संस्थागत विकास र भविष्य सुरक्षित गर्ने प्रयास हो। उनले अध्यादेशमार्फत यस्ता विकृति हटाइएको उल्लेख गर्दै आम नागरिकसँग साथ र विश्वासको अपेक्षा गरेका छन्।

“परिवर्तन भाषणले होइन, निर्णयले आउँछ,” उनले भनेका छन्।

प्रतिक्रिया