कृष्ण मण्डल
राजबिराज, १२ श्रावण । किसानलाई समयमा रासायनिक मलखाद उपलब्ध गराउन नसकेको, मल वितरणमा अनियमितता र कालोबजारी भएको, ट्रान्सफर्मर अन्यत्र सारिएको, मर्मत–सम्भार शीर्षकको रकम दुरुपयोग गरिएको तथा विगत चार वर्षको विकास बजेटको हिसाब सार्वजनिक गर्नुपर्ने माग राख्दै छिन्नमस्ता वडा नं. ६ कार्यालयमा स्थानीय किसान तथा सर्वसाधारणले साेमबार तालाबन्दी गरेका छन्।
तालाबन्दीपछि दिनभरि स्थानीय, जनप्रतिनिधि र सरोकारवालाबीच पटक–पटक वार्ता भए पनि साँझ करिब ६ बजेसम्म कुनै निष्कर्ष ननिस्किएपछि मंगलबार दिउँसो १ बजेसम्म छलफल जारी राख्ने सहमति भएको छ। त्यसअघिसम्म तालाबन्दी यथावत् रहने स्थानीयले जनाएका छन्।
सबैभन्दा गम्भीर विषय भनेको स्थानीय जनप्रतिनिधि रहेको उपाध्यक्ष राजुदेवी यादव दिनभरि वार्तास्थलमा उपस्थित नभएको आरोप हो। स्थानीयका अनुसार बिहान तालाबन्दी सुरु भएदेखि साँझसम्म उपाध्यक्ष एकपटक पनि वार्तामा नआएपछि उहाँका श्रीमान् तेजनारायण यादव नै आफू उपाध्यक्षको प्रतिनिधि भन्दै वार्तामा सहभागी भएका थिए।
स्थानीयवासीले निर्वाचित उपाध्यक्ष उपस्थित हुनुपर्ने अडान राखे पनि तेजनारायण यादवलेनै वार्ता अगाडि बढाएको उनीहरूको दाबी छ। वार्ताका क्रममा उनले खुदिबखारी गाउँकाे मलखाद वितरणको जिम्मेवारी आफूलेनै सम्हाल्दै आएको र त्यसको सम्पुर्ण दाेषी आफुनै रहेको स्वीकारोक्ति गरेको छ।
यता वडा नं. ६ का वडाअध्यक्ष कपिलेश्वर साहले खुदिबखारी गाउँको मल वितरणको जिम्मेवारी उपाध्यक्ष श्रीमान तेजनरायण यादवले आफ्नो निर्देशनमा वितरण गर्दै आएकोले यस्तो समस्या निमतिएकाे स्वीकार गरेका छन्। साथै वडा सदस्य गजेन्द्र साहसमेत उक्त वितरण प्रक्रियामा संलग्न रहेको हाल उनी सम्पर्कविहीन रहेको जानकारी दिए।
पूर्व उपप्रधानपंच गोविन्द मण्डलले किसानले समयमा मलखाद नपाउनु, ट्रान्सफर्मर अन्यत्र सारिनु, मर्मत–सम्भार शीर्षकको रकम खर्च भएको देखाइए पनि काम नगर्नु तथा विगत चार वर्षको बजेट र खर्च सार्वजनिक गर्नुपर्ने माग राख्दै आफुहरुले नै तालाबन्दी गरिएको बताए।
पालिका अध्यक्षका प्रत्याशीसमेत रहेका कुलानन्द यादवले पालिकाभित्र किसानले मल नपाइरहेको अवस्थामा डीएपी मल कालोबजारीमार्फत रु. ४,००० देखि ४,५०० सम्ममा बिक्री भइरहेको आरोप लगाए। प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा निष्पक्ष छानबिन नभएसम्म तालाबन्दी नखोल्ने चेतावनीसमेत उनले दिए।
स्थानीय समाजसेवी शिवबिहारी मण्डलले वडा कार्यालयमा विगत चार वर्षदेखि भ्रष्टाचार, लुट र ठगी मौलाएको आरोप लगाउँदै सम्पूर्ण आर्थिक कारोबारको छानबिन गर्न माग गरे।
स्थानीय हबिब मन्सुरीले मल वितरणको सम्पूर्ण योजनाको नेतृत्व उपाध्यक्षका श्रीमान् तेजनारायण यादवले गर्दै आएको आरोप लगाए।
स्थानीय जयनारायण मण्डलका अनुसार मल वितरणमा डिलर परिवर्तन, कमिसनको चलखेल र पहुँचका आधारमा वितरण हुँदा वास्तविक किसानले मल पाउन सकेका छैनन्। सरकारले युरिया मल रु. ७६५ मा बिक्री गर्ने निर्णय गरे पनि स्थानीय स्तरमा रु. १,०५० देखि १,३०० सम्म र डीएपीको सरकारी मूल्य रु. २,४५० भए पनि रु. ४,००० देखि ४,५०० सम्म बिक्री भइरहेको उनले दाबी गरे ।
स्थानीय सदानन्द साहले पालिका अध्यक्ष र उपाध्यक्षको मिलेमतोमा खुदिबखारीस्थित रहेको हाइपावरकाे ट्रान्सफर्मर अन्यत्र सारिएको आरोप लगाए। त्यसका कारण सिँचाइका मोटर सञ्चालन गर्न नसकिएको, पर्याप्त भोल्टेज नपुग्दा स्थानीयवासी दैनिक समस्यामा परेको उनले बताए।
तालाबन्दीका क्रममा कुनै अप्रिय घटना हुन नदिन इलाका प्रहरी कार्यालय सखडा तथा बीओपी गोविन्दपुरका सुरक्षाकर्मी दिनभरि शान्ति–सुरक्षामा खटिएको थियाे ।