२०८३ साल भदौ २६ गते शुक्रबार

सप्तकोसीको बहाव बढेपछि गोबरगाढावासीको सुरक्षामा नगरपालिका सक्रिय , अस्थायी बास निर्माण सुरु

राजबिराज, २१ भदौ । सप्तकोसी नदीमा पानीको बहाव निरन्तर बढ्दै गएपछि हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढामा जोखिम बढेको छ । नदीको पानी बस्तीका घर आँगनसम्म प्रवेश गर्न थालेपछि स्थानीय नागरिकको सुरक्षाका लागि नगरपालिकाले तत्कालीन व्यवस्थापनको काम अघि बढाएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र माझीका अनुसार चारैतिरबाट कोसीको भंगालोले घेरिएको गोबरगाढा बस्तीका नागरिकलाई नदीबाहिर सुरक्षित स्थानमा स्थानान्तरण गरी खाने बस्ने व्यवस्था मिलाउने प्रस्ताव गरिएको थियो । तर , स्थानीय नागरिकहरू आफ्नो बस्ती छाडेर बाहिर जान नचाहेपछि नगरपालिकाले गोबरगाढामै वैकल्पिक सुरक्षित व्यवस्थापन सुरु गरेको हो ।

नगरपालिकाले बस्तीभित्रकै तुलनात्मक रूपमा अग्लो स्थानमा पालका अस्थायी घर निर्माण गर्न थालेको छ । नगरप्रमुख माझीका अनुसार आइतबार ८ वटा अस्थायी घर निर्माण गरिएको छ भने आवश्यकता र जोखिमको अवस्था हेरी थप अस्थायी घर निर्माण गरिनेछ ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले गोबरगाढावासीका लागि खाद्यान्न , खानेपानी तथा अन्य आवश्यक सामग्रीसमेत व्यवस्थापन गर्ने तयारी गरेको नगरप्रमुख माझीले बताएका छन् ।

नगरप्रमुख माझीले बाढीको जोखिम बढिरहेको अवस्थामा स्थानीय नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । उनले अत्यावश्यक कामबाहेक नदी तथा बाढीको बहाव भएको क्षेत्रमा नजान, बालबालिका, ज्येष्ठ नागरिक, बिरामी तथा अशक्त व्यक्तिलाई विशेष निगरानीमा राख्न र जोखिमपूर्ण स्थानमा नबस्न आग्रह गरेका छन् ।

उनका अनुसार पानीको बहाव थप बढेर अवस्था गम्भीर बनेमा स्थानीय नागरिकले नगरपालिका , सुरक्षाकर्मी तथा उद्धार टोलीको निर्देशन पालना गर्दै तत्काल सुरक्षित स्थानतर्फ जान तयार रहनुपर्नेछ ।

नगरप्रमुख माझीले गोबरगाढाको दीर्घकालीन समाधानका लागि भने बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु नै स्थायी विकल्प भएको बताएका छन् । स्थानीय नागरिकको चाहना र सहमतिअनुसार तीनै तहका सरकारसँग समन्वय गरी नदीबाहिर सुरक्षित स्थानमा एकीकृत बस्ती निर्माण तथा स्थानान्तरणका लागि नगरपालिका प्रतिबद्ध रहेको उनको भनाइ छ ।

“विपत्तिको यस कठिन अवस्थामा गोबरगाढावासीलाई नआत्तिन आग्रह गर्दछु । नगरपालिकाले नागरिकको जीवन र सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर आवश्यक सबै सहयोग र व्यवस्थापन गर्नेछ,”  नगरप्रमुख माझीले बताएका छन् ।





प्रतिक्रिया