२०८३ साल ब‌ैशाख १६ गते बुधबार

पत्रकार अजय साहमाथि दुर्व्यवहारप्रति पत्रकार महासंघको आपत्ति

राजविराज, १२ वैशाख । महोत्तरीको बर्दिबासमा पत्रकार अजयकुमार साहमाथि भएको दुर्व्यवहार घटनाप्रति नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले गम्भीर आपत्ति जनाएको छ।

महासंघले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कोषाध्यक्ष भोज प्रसाद फुयाल (शंकर)ले समाचार प्रकाशनकै विषयलाई लिएर साहमाथि गालीगलौज, धम्की तथा दुर्व्यवहार गरेका हुन्।

रातोपाटीका संवाददाता तथा खबर दर्पण दैनिक र शिरीष न्युज डटकमका प्रकाशक/सम्पादकसमेत रहेका साहमाथि गरिएको व्यवहारप्रति महासंघले घोर भर्त्सना गरेको छ।

महासंघले स्पष्ट पारेको छ—समाचारप्रति असहमति भए कानुनी उपचारका वैधानिक माध्यम उपलब्ध हुँदाहुँदै पत्रकारमाथि आक्रमण गर्नु निन्दनीय र अस्वीकार्य हो। यस्तो गतिविधिले प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पुग्ने उल्लेख गरिएको छ।

विज्ञप्तिमार्फत महासंघले घटनामा संलग्न फुयाललाई अविलम्ब कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ।

महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ले प्रेस स्वतन्त्रताको संरक्षणका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया