काठमाडौं, ८ फागुन । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ नजिकिँदै जाँदा निर्वाचन आयोग ले मतदाता शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यले टिकटक भिडियो प्रतियोगिता सञ्चालन गर्ने भएको छ।
युवामाझ लोकप्रिय सामाजिक सञ्जाल टिकटकमार्फत निर्वाचनको माहोल सिर्जना गर्दै मतदाता सचेतना फैलाउने लक्ष्यसहित आयोगले एक मिनेट अवधिको सन्देशमूलक भिडियो बनाउन आह्वान गरेको हो।
आयोगका अनुसार निर्वाचन आचारसंहिता, मतदाताको अधिकार र कर्तव्य, मतदानको महत्व, सही तरिकाले मतपत्रमा छाप लगाउने प्रक्रिया लगायत विषय समेटेर भिडियो तयार गर्नुपर्नेछ। सहभागीले फागुन १७ गतेभित्र आफ्नो टिकटक सामाजिक सञ्जालमा अपलोड गरी आयोगको इमेलमा समेत पठाउनुपर्ने व्यवस्था गरिएको छ।
प्राप्त भिडियोमध्ये सबैभन्दा बढी भ्युज पाउने उत्कृष्ट तीन भिडियोलाई नगद पुरस्कार प्रदान गरिनेछ। पहिलो हुनेले ५० हजार रुपैयाँ, दोस्रोले ३० हजार र तेस्रोले २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।
भिडियो मौलिक अडियो, संवाद र अभिनययुक्त हुनुपर्ने तथा एक व्यक्तिले एक विषयमा एक भिडियो पठाउन पाउने आयोगले जनाएको छ। दुई वा सोभन्दा बढी व्यक्तिको समूहले पनि संयुक्त रूपमा भिडियो निर्माण गर्न सक्नेछन्।
आयोगले प्राप्त उत्कृष्ट भिडियो आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत प्रसारण गर्नेछ भने म्याद नाघेका वा तोकिएका मापदण्ड नपुगेका भिडियो स्वीकार गरिने छैनन्। उत्कृष्टताको छनोट स्वतन्त्र विज्ञ तथा आयोगको संयुक्त मूल्याङ्कनबाट हुने जनाइएको छ।