काठमाडौं, १५ चैत । अमेरिका मा राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध देशव्यापी विरोध प्रदर्शन सुरु भएको छ।
‘नो किङ्ग्स’ नामक ट्रम्प प्रशासनविरुद्धको अभियान अन्तर्गत हजारौं सर्वसाधारण सडकमा उत्रिएका हुन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो प्रदर्शन तेस्रो चरणमा प्रवेश गरिसकेको छ।
प्रदर्शनकारीहरूले ट्रम्प प्रशासनका विभिन्न नीतिहरूको विरोध गरेका छन्। विशेषगरी इरानसँगको युद्ध नीति, संघीय आप्रवासन नियन्त्रण तथा बढ्दो जीवनयापन लागतविरुद्ध जनआक्रोश चर्किएको बीबीसी ले जनाएको छ।
आलोचकहरूले राष्ट्रपति ट्रम्प तानाशाह शैलीमा शासन गर्न खोजेको आरोप लगाउँदै आएका छन्।
न्यूयोर्क, वासिङ्टन डीसी, लस एन्जलस, बोस्टन र ह्युस्टन लगायतका प्रमुख सहरहरूमा व्यापक प्रदर्शन भएको जनाइएको छ।
यसअघि संघीय आप्रवासन अधिकारीहरूले दुई अमेरिकी नागरिकमाथि गोली प्रहार गरी हत्या गरेको घटनापछि देशभर आक्रोश फैलिएको थियो। सोही विषय पनि हाल जारी प्रदर्शनमा प्रमुख मुद्दाका रूपमा उठाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।