२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

प्रधानमन्त्री बालेन्द्र शाहसँग कूटनीतिक नियोग प्रमुखहरूको सामूहिक भेट

काठमाडौँ, २५ चैत: प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग आज सामूहिक भेट तथा संवाद गर्नुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित उक्त भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्र सङ्घका राजदूत एवं नियोग प्रमुखहरूको उपस्थिति रहेको थियो।

उक्त अवसरमा राजदूत तथा नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। साथै, नेपाली जनताको हितमा परिणाममुखी कामका लागि नेपाल सरकारलाई आवश्यक सहयोग र समर्थन गर्ने प्रतिबद्धता जनाए।

प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिमा जोड दिँदै छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले शान्तिलाई साझा प्राथमिकता बनाउँदै विदेशमा रहेका नेपाली समुदाय तथा श्रमिकहरूको सुरक्षा र हित सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो।

त्यसैगरी, उहाँले सुशासन, आर्थिक विकास तथा जनजीवन सुधारमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई लगायत उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया