राजविराज, १७ वैशाख । सप्तरीमा बुधबार साँझ वर्षासँगै आएको तीव्र हावाहुरीले एक जनाको ज्यान गएको छ भने जिल्लाभरि व्यापक क्षति पुर्याएको छ।
प्रहरीका अनुसार साँझ करिब ६ः१५ बजे हुलाकी सडकखण्ड अन्तर्गत पत्थरगाढा चौक नजिक यात्रु बोकेको सिटी रिक्सा पल्टिँदा बोदेबर्साइन नगरपालिका–८ निवासी ४२ वर्षीय भगवान दत्त साहको मृत्यु भएको हो।
हावाहुरीका कारण जिल्लाका शहरी तथा ग्रामीण क्षेत्रका दर्जनौँ घर तथा पसलमा क्षति पुगेको छ भने धेरै स्थानमा घरका छाना उडेका छन्। सडकमा रुख ढल्दा केही समय आवागमन पूर्ण रूपमा अवरुद्ध भएको थियो। पछि प्रहरीले रुख हटाएर यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
यसैबीच नेपाल विद्युत प्राधिकरण राजविराजका अनुसार जिल्लाभरि चार दर्जनभन्दा बढी विद्युतीय पोल ढलेका छन्, जसका कारण अधिकांश क्षेत्रमा विद्युत सेवा प्रभावित भएको छ।
राजविराज नगर क्षेत्रमा एक निजी घरअगाडि सिसाले सजाइएको फ्रेमसमेत ढलेको छ। प्राधिकरणका प्रमुख सुनिल कुमार महतोका अनुसार क्षतिग्रस्त संरचनाको मर्मत कार्य तीव्र रूपमा अघि बढाइएको छ।
हावाहुरीका कारण सर्वसाधारणको दैनिक जनजीवन प्रभावित बनेको छ भने क्षतिको विवरण संकलन कार्य जारी रहेको जनाइएको छ।