राजविराज २३ फाल्गुन । सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ को मत परिणाम सार्वजनिक भइरहेका बेला नेतृ रञ्जु झा ठाकुर को सामाजिक सञ्जालमा गरिएको अभिव्यक्ति विवादमा परेको छ।
झा ठाकुरले फेसबुकमार्फत छिन्नमस्ता र तिलाठी क्षेत्रको मत परिणामप्रति असन्तुष्टि जनाउँदै लेखेकी छन्, “सप्तरी जिल्ला क्षेत्र नम्बर २ छिन्नमस्ता र तिलाठीको मत परिणाम देख्दा सबैभन्दा पापी, लोभी, माल खाने त बाहुनहरू नै देखियो।”
उनको उक्त स्टाटस सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आउन थालेको छ। धेरै प्रयोगकर्ताले मतदातालाई लक्षित गरी प्रयोग गरिएको शब्दप्रति आपत्ति जनाउँदै मतदाताको निर्णयलाई सम्मान गर्नुपर्ने बताएका छन्।
कतिपयले नेताले जनताको मतलाई गाली गर्नु भन्दा आफ्नै राजनीतिक यात्राको पनि समीक्षा गर्नुपर्ने टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमै एक प्रयोगकर्ताले प्रतिक्रिया दिँदै झा ठाकुर यसअघि नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी, नेपाल बाट समानुपातिक सांसद बनेको तथा अहिले नेपाल जनता पार्टी बाट चुनाव लडेको विषय पनि उठाएका छन्।
झा ठाकुरको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा समर्थन र विरोध दुवै प्रकारका प्रतिक्रिया देखिएका छन्। धेरैले भने मत परिणामप्रति असन्तुष्टि भए पनि मतदातालाई लक्षित गरी अपमानजनक शब्द प्रयोग गर्नु उपयुक्त नभएको बताएका छन्।
यस विषयमा झा ठाकुरबाट भने हालसम्म औपचारिक स्पष्टीकरण सार्वजनिक भएको छैन।