२०८२ साल फाल्गुण २७ गते बुधबार

निःशुल्क शिक्षा र सस्तो विद्युत मुख्य एजेन्डा बोकी सप्तरी–२ मा उज्यालो नेपाल

राजविराज, ३ फाल्गुन । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टी ले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार डा. दीपक चौधरी को घोषणा पत्र सार्वजनिक गरेको छ।

घोषणा पत्रमा निःशुल्क शिक्षा, सस्तो विद्युत, स्वास्थ्य सेवा विस्तार, रोजगारी सिर्जना तथा राजविराज को समग्र विकासलाई प्राथमिकतामा राखिएको छ। आइतबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमार्फत घोषणा पत्र सार्वजनिक गर्दै पार्टीले संघीय संरचनालाई सुदृढ बनाउँदै पारदर्शी, जनउत्तरदायी र समावेशी शासन प्रणाली स्थापना गर्ने प्रतिबद्धता जनाएको हो।

पार्टीले मधेश लामो समयदेखि राजनीतिक उपेक्षा, भ्रष्टाचार, जातीय विभेद र असमानताको शिकार भएको उल्लेख गर्दै ती समस्याको अन्त्य गरी जनताको विश्वास जित्ने लक्ष्य लिएको जनाएको छ। घोषणा पत्रअनुसार राजविराजलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय नगरको रूपमा विकास गर्ने योजना अघि सारिएको छ। यसबाट स्थानीय अर्थतन्त्र मजबुत हुनुका साथै पर्यटन, व्यापार र रोजगारीका अवसर विस्तार हुने अपेक्षा गरिएको छ।

ऊर्जा क्षेत्रअन्तर्गत गरिब तथा विपन्न परिवारलाई निःशुल्क विद्युत उपलब्ध गराउने तथा सर्वसाधारणका लागि सस्तो र सहज विद्युत सेवा सुनिश्चित गर्ने योजना घोषणा पत्रमा समेटिएको छ। कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै उत्पादन वृद्धि गर्ने, सिंचाइ सुविधा विस्तार गर्ने तथा किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।

शिक्षा क्षेत्रअन्तर्गत हाईस्कूल तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने, सरकारी विद्यालय तथा कलेजको गुणस्तर सुधार गर्ने तथा प्राविधिक शिक्षालाई प्राथमिकता दिने योजना अघि सारिएको छ। स्वास्थ्य सेवातर्फ प्राथमिक स्वास्थ्य सेवा सर्वसुलभ बनाउने र स्थानीय स्वास्थ्य संस्थाको स्तरोन्नति गर्ने प्रतिबद्धता समेत जनाइएको छ।

त्यसैगरी, राजविराज औद्योगिक क्षेत्रलाई पूर्ण रूपमा सञ्चालनमा ल्याई स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने, युवा तथा महिलालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने तथा व्यापार–व्यवसायका लागि अनुकूल वातावरण तयार गर्ने योजना घोषणा पत्रमा उल्लेख छ।

घोषणा पत्रमा महिला, दलित, मुस्लिम तथा पिछडिएका समुदायको अधिकार सुनिश्चित गर्ने, लालपुर्जा नभएका नागरिकको समस्या समाधान गर्ने तथा सडक, पुललगायत पूर्वाधार विकासलाई तीव्रता दिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

पार्टीले सुशासन, विकास र जनताको जीवनस्तर सुधारलाई केन्द्रमा राख्दै सप्तरी–२ लाई समृद्ध र विकसित क्षेत्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित घोषणा पत्र सार्वजनिक गरेको जनाएको छ।

प्रतिक्रिया