राजबिराज, ३० चैत । सरकारले सरकारी विज्ञापन तथा सूचनाहरू सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्र प्रकाशन/प्रसारण गर्ने निर्णय गरेपछि निजी क्षेत्रका सञ्चार माध्यमहरूले त्यसको विरोध जनाएका छन्।
सोमबार देशभरका दर्जनौँ छापा माध्यमहरूले पहिलो पृष्ठमै सांकेतिक विरोध गरेका हुन्।
चैत ३० मा प्रकाशित विभिन्न राष्ट्रिय तथा क्षेत्रीय दैनिक पत्रिकाहरूले पहिलो पृष्ठमा ठूलो प्रश्नवाचक चिन्ह राख्दै सरकारको कदमप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूले समाचार सामग्रीको सट्टा प्रश्नवाचक चिह्न प्रयोग गर्दै विरोध प्रदर्शन गरेका हुन्।
यस विरोधमा नेपाल समाचारपत्र, राजधानी, मध्याह्न, दैनिक लुम्बिनी, बुटवल टुडे, दैनिक पत्र, मेचीकाली सन्देश, नव क्षितिजलगायतका पत्रिकाहरू सहभागी भएका छन्। नेपाल समाचारपत्रले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै खुलापत्र समेत प्रकाशित गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चैत १८ गते जारी गरेको परिपत्रमार्फत सार्वजनिक निकायका विज्ञापन तथा सूचनाहरू गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजन मार्फत मात्र प्रकाशन/प्रसारण गर्न निर्देशन दिएको थियो।
सरकारले उक्त निर्णयको औचित्य पुष्टि गर्दै सरकारी खर्चमा मितव्ययिता कायम गर्ने, सूचना प्रवाहमा एकरूपता ल्याउने तथा सरकारी सञ्चार माध्यमलाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको जनाएको छ।
तर, निजी सञ्चार माध्यमहरूले यस निर्णयलाई प्रेस स्वतन्त्रता तथा नागरिकको सुसूचित हुने अधिकारमाथि हस्तक्षेप भएको भन्दै विरोध गरेका छन्। उनीहरूले “सूचना केका लागि?” भन्ने प्रश्न उठाउँदै एक मात्र सञ्चार माध्यमबाट सूचना प्रवाह पर्याप्त नहुने तर्क गरेका छन्।
निजी मिडियाहरूका अनुसार पाठक तथा दर्शकहरूले विभिन्न माध्यमबाट सूचना प्राप्त गर्न पाउने अधिकार सुनिश्चित हुनुपर्छ। सरकारी सूचनामा एकाधिकार कायम गर्न खोज्नु नागरिकको सूचना पाउने अधिकार सीमित गर्नु सरह भएको उनीहरूको निष्कर्ष छ।
साथै, समाचारका स्रोत फरक–फरक हुन सक्ने तर सूचना र विज्ञापनको स्रोत एउटै बनाउने सरकारी नीतिले सञ्चार क्षेत्रको विविधता र प्रतिस्पर्धामा नकारात्मक असर पार्ने उनीहरूको चेतावनी छ।