राजविराज, २४ पुस । सप्तरी निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा निर्वाचनमा निवर्तमान प्रदेश सभा सदस्य अभिषेक यादव उम्मेदवार बन्ने चर्चा तीव्र बनेको छ।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उनले क्षेत्र केन्द्रित राजनीतिक सक्रियता बढाएका छन्।
यादव २०७४ सालमा सप्तरी–४ (२) बाट तत्कालीन संघीय समाजवादी फोरम नेपालको तर्फबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। २०७९ मा पराजित भए पनि प्रदेश सभामा रहँदा उनी युवामैत्री र जनउत्तरदायी जनप्रतिनिधिका रूपमा परिचित थिए।
हाल कुन दलबाट उम्मेदवारी दिने भन्नेबारे औपचारिक घोषणा नभए पनि भेटघाट, छलफल तथा जनसम्पर्क गतिविधि तीव्र बनेको छ। Gen-Z (जेनजी) आन्दोलनको मर्मअनुसार समावेशी र पारदर्शी राजनीतिलाई प्राथमिकता दिने उनको संकेतले सप्तरी–४ को राजनीतिक समीकरण थप रोचक बन्ने अनुमान गरिएको छ।
सप्तरी–४ अन्तर्गत बोदेबरसाईन, सुरूङ्गा र खडक नगरपालिका तथा बलान–बिहुल गाउँपालिका पर्दछन्।