२०८२ साल मङ्सिर २४ गते मङ्गलबार

आफ्ना नेता–कार्यकर्तामाथिको मुद्दा खारेज गर्नुपर्ने :अध्यक्ष ठाकुर

राजविराज, १७ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्ना नेता–कार्यकर्तामाथि लगाइएका मुद्दा तुरुन्त खारेज गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार राजविराजमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ठाकुरले शान्तिपूर्ण आन्दोलनका क्रममा पनि प्रहरीले गोली प्रहार गर्ने र त्यसको बचाव गर्दा समेत आफ्ना नेतामाथि जन्मकैदसहित गम्भीर मुद्दा दर्ता गरिएको आरोप लगाए । उनले हजारौँ मानिस मार्ने माओवादीमाथि कुनै कारबाही नगरी शान्तिपूर्ण आन्दोलन गर्ने नेतामाथि कठोर सजाय दिनु अन्याय भएको बताए ।

उनले हालै प्रधानमन्त्री र गृहमन्त्रीसँग भेट गरी सो विषयमा ध्यानाकर्षण गराइसकेको उल्लेख गर्दै प्रदेश सदस्य अभिराम शर्मा लगायतमाथि दायर मुद्दा फिर्ता लिन माग गरे । “यस विषयमा तत्काल सकारात्मक संकेत आएको छ,” ठाकुरले बताए ।

अध्यक्ष ठाकुरले जनतालाई अधिकार सम्पन्न बनाउन र स्वायत्तताको सुनिश्चितताका लागि मोर्चा निर्माण गरिएको स्पष्ट पारे । साथै उनले रुपन्देही उपनिर्वाचनपछि संघीय र मधेश सरकारमा राजनीतिक परिवर्तन हुने दाबी गरे ।

बजेट विनियोजनमा मधेशसँग बेइमानी भइरहेको आरोप लगाउँदै ठाकुरले भने, “मधेशबाट अत्यधिक राजस्व उठाइन्छ, तर २० प्रतिशत पनि फिर्ता दिइँदैन । कम्तीमा ३५ प्रतिशत दिइयो भने केही काम गर्न सकिन्छ ।”

प्रतिक्रिया