राजविराज, १ साउन । तिरहुत टाइगर्सले लगातार दोश्रो पटक मेयर कप सप्तरी प्राइड लिग को उपाधि जित्दै आफ्नो दबदबा कायम राख्न सफल भएको छ। बिहीबार सम्पन्न प्रतियोगिताको सातौं संस्करणको फाइनल खेलमा टाइगर्सले राजविराज राजदेवी रोयललाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै उपाधि उचालेको हो।
राजविराजस्थित पब्लिक विन्देश्वरी स्कूलको मैदानमा आयोजित फाइनलमा टस हारेर पहिला ब्याटिङ गरेको राजदेवी रोयलले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ९२ रन बनायो। टार्गेटको जवाफमा टाइगर्सले १५.३ ओभरमै १ विकेटको क्षतिमा लक्ष्य पछ्याउँदै जित दर्ता गर्यो।
टाइगर्सका ओपनर भोला शाहले ५ चौका र ३ छक्का सहित ४५ बलमा अविजित ५५ रनको शानदार पारी खेले। उनले निरज यादवसँग दोश्रो विकेटका लागि अविजित ७९ रनको साझेदारी गर्दै जित सुनिश्चित गरे। निरजले १८ रन र अभिनाश कर्णले १३ रनको योगदान दिए। रोयलका नितेश यादवले एक मात्र विकेट लिए।
यसअघि, रोयलका लागि रोहन विकले सर्वाधिक २३ रन बनाए भने अभिषेक तिवारीले १९ र जितु यादवले अविजित १८ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। टाइगर्सको बलिङतर्फ श्रवण यादवले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए। चित्र बहादुर बिस्ट र अनिल यादवले समान २/२ विकेट लिँदा, राहुल मण्डल र अजय यादवले १/१ विकेट लिए।
सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेता बनेको तिरहुत टाइगर्सले नगद २ लाख रुपैयाँसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता राजदेवी रोयलले नगद १ लाख रुपैयाँमा चित्त बुझायो।
प्रतियोगिताको उत्कृष्ट खेलाडी राजदेवी रोयलका दिवान पुन घोषित भए। उनले ४ खेलमा १०१ रन बनाउनुका साथै ६ विकेट पनि लिएका थिए, जसबापत उनलाई २५ हजार रुपैयाँ प्रदान गरियो।
त्यसैगरी, उत्कृष्ट ब्याटरको उपाधि १३८ रन बनाएका भोला शाहले प्राप्त गरे भने उत्कृष्ट बलर १३ विकेट लिएका चित्र बहादुर बिस्ट घोषित भए। दुवैले १५–१५ हजार रुपैयाँ पुरस्कार पाए। प्रतियोगिताको उदयमान खेलाडीको रुपमा टाइगर्सकै अनिल यादवले पहिचान बनाए।
८ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सप्तरी जिल्लाका ८ वटा टिमले सहभागिता जनाएका थिए।
समापन समारोहमा राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत परविन, तिरहुत गाउँपालिका अध्यक्ष विजय यादव, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, सशस्त्र प्रहरी बलका उपरीक्षक ज्ञानमणि पौडेल, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुलचन्द्र नेपाल, क्रिकेट संघ अध्यक्ष आयुष श्रेष्ठ, अन्तर्राष्ट्रिय खेलाडी महबुव आलम, आईसीसी प्यानल अम्पायर वृद्धि बहादुर प्रधान, उपाध्यक्ष निरज सिंह, संयोजक डम्बर नारायण दास लगायतले विजेता तथा उपविजेतालाई शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए।