२०८२ साल ब‌ैशाख ३१ गते बुधबार

गणतन्त्रवादीलाई राम र राजावादीलाई रावणको संज्ञा : अध्यक्ष नेपाल

राजबिराज , २० चैत । नेपाली राजनीतिलाई विश्लेषण गर्दै गणतन्त्रवादीलाई राम र राजावादीलाई रावणको संज्ञा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले दिएका छन् ।

सप्तरीको दशौं जिल्ला कमिटी अधिवेशनलाई बुधबार राजविराजमा उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो कुरा  बताएका हुन् ।

‘आन्दोलनको नाममा जहाँ गए त्यही उनीहरुले लुटपाट गरे पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘मिठाई पसलमा मिठाई, फलफुल पसलमा फलफुल, जहाँ जे पाए त्यही लुटपाट गरे ।’

राजावादी पक्षधरहरू गुण्डागर्दीमा उत्रेको आराेप लगाउदै सप्तरीमा राजावादीलाई आउन नदिन आग्रह गरे । ‘यहाँ आए बरमझियाको पेडा नै लुटेर लग्छन्’ उनले भने, ‘त्यहीं भएर पेडा पसलेहरु हौसियार !’

उनले राजावादीले प्रदर्शन गरेकै दिन समाजवादी मोर्चाले पनि प्रदर्शन गरेको तर गणतन्त्र पक्षधरहरूले कहीँ कतै कुनै समस्या उत्पन्न नगरेको उनले बताए । ‘गणतन्त्रवादीहरू १ लाख भन्दा बढी सहभागी भएका थिए’ उनले भने, ‘तर थोरै संख्यामा रहेका राजावादीहरुले लुटपाट आगजनी र तोडफोड गरे ।’

अध्यक्ष नेपालले आफ्नै पार्टी कार्यालयबाट कम्प्युटर प्रिन्टर किताब चोरी गरेर लगेको र पार्टी कार्यालयमा आगो समेत लगाइदिएको बताए । ’राजावादीहरू यही भएर गुण्डा हुन्’ उनले भने, ’यही फरक छ गणतन्त्रवादी र राजावादीमा । रावणले लुटेको छ र रामले सबैको भलाई गर्छ ।’


राजाले शासन गर्दा देश अँध्यारोको दिशामा रहेको र अत्याचार अत्यधिक बढेको उल्लेख गर्दै उनले राजालाई कुनै शर्तमा आउन नदिने बताए । ‘राजा आउँदा केही व्यक्ति र परिवारलाई फाइदा हुन्छ तर जनतालाई केही फाइदा हुँदैन’ उनले भने ।


अध्यक्ष नेपालले कांग्रेस र नेकपा एमालेको सरकार नालायक भएको टिप्पणी गरे । यो दुवै पार्टीको सरकारले देश र जनताको भलाई नगरिरहेको उनको भनाइ छ । ’जनताको समस्याप्रति वेवास्ता गरेको यो सरकारबाट केही हुनेवाला छैन’ उनले भने ।


भ्रष्टाचार कुशासन बढ्दा र जनताको समस्यामा ध्यान नदिँदा देश बिग्रन थालेको उनको भनाइ छ ।

पार्टीका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरीको अध्यक्षतामा भएको अधिवेसन उद्घाटन कार्यक्रममा पार्टीका उपाध्यक्ष धर्मनाथ प्रसाद साह, मधेश प्रदेशका अध्यक्ष रामचन्द्र यादव, अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष उषा पोखरेलसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया