कृष्ण मण्डल
राजविराज, २३ माघ । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ मा उम्मेदवारहरूको संख्या धेरै भए पनि चुनावी गतिविधि भने निराशाजनक देखिएको छ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायत विभिन्न दल तथा स्वतन्त्र गरी कुल ३४ जना उम्मेदवार मैदानमा रहे पनि अधिकांशको उपस्थिती मतदातामाझ देखिँदैन।
चुनावी सरगर्मी बढ्नुपर्ने यस समयमा करिब ८८ प्रतिशत उम्मेदवार न प्रचार–प्रसारमा देखिएका छन्, न घरदैलो अभियानमै। ठूला दलबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका रामकुमार यादव, नेकपा (एमाले) का मौ. जियाहुल रहमान, नेपाली कम्युनिस्ट पार्टीका सूर्यनाथ यादव (सुभाष), नेपाल जनता दलकी रञ्जु ठाकुरलगायत साना दल, नयाँ, पुराना तथा स्वतन्त्र उम्मेदवारहरू समेत प्रायः निष्क्रिय अवस्थामा देखिएका छन्।
बाँकी १२ प्रतिशत उम्मेदवारमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रामजी यादव र स्वाभिमान पार्टीका शतिस सिंह घरदैलो तथा प्रचारमा देखिए पनि आफ्ना चुनावी एजेन्डा औपचारिक रूपमा सार्वजनिक गर्न सकेका छैनन्।
यता जनमत पार्टीका अध्यक्ष तथा सप्तरी–२ का उम्मेदवार डा. सीके राउत, जनअधिकार पार्टीका शरत सिंह यादव र जसपाका उम्मेदवार उमेश कुमार यादवले भने आफ्ना एजेन्डा सार्वजनिक गर्दै चुनावी मैदानमा सक्रियता बढाएका छन्।
गाउँ–टोल र बजार क्षेत्रमा उम्मेदवारहरूको उपस्थिति न्यून हुँदा मतदाताहरू अन्योल र असन्तुष्ट बनेका छन्। छिन्नमस्ताका पवन कुमार झा भन्छन्, “उम्मेदवार नै नदेखिँदा कसलाई मतदान गर्ने भन्ने निर्णय गर्न गाह्रो भएको छ।”
राजविराजका सन्तोष गुप्ता पनि असन्तुष्टि व्यक्त गर्दै भन्छन्, “सीमित ब्यानर र पोस्टर बाहेक स्पष्ट एजेन्डा नआउँदा सही नेता छान्न समस्या भइरहेको छ।”
महदेवा गाउँपालिकामा भने जनमत पार्टीका उम्मेदवार डा. सीके राउतप्रति जनलहर देखिएको स्थानीय देवेन्द्र मण्डल बताउँछन्। तिलाठी कोइलाडी क्षेत्रमा जसपा, जनमत, स्वाभिमान र रास्वपाको प्रचारप्रसार देखिए पनि बाँकी करिब ३० जना उम्मेदवारको गतिविधि भने प्रायः शून्यजस्तै छ।
राजनीतिक विश्लेषकहरूका अनुसार घरदैलो र प्रत्यक्ष जनसम्पर्क निर्णायक हुने सप्तरी–२ मा उम्मेदवारहरू पार्टी समन्वय र आन्तरिक व्यवस्थापनमै अल्झिँदा चुनावी गतिविधि सुस्त बनेको हो।
सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि कुल ३४ जना उम्मेदवारले उम्मेदवारी दिएका छन्।