एजेन्सी, २३ जेठ । भारती जनता पार्टीले राजधानी दिल्लीमा लगातार तेस्रो पटक ‘क्लीन स्वीप’ गरेको छ । यहाँ कांग्रेस र आम आदमी पार्टीले गठबन्धन गरेर चुनाव लडेपनि भाजपाका अगाडि केही चलेन ।
२०१४ र २०१९ मा सातवटै सिट जितेको भाजपाले त्यसलाई यसपटक पनि निरन्तरता दिन सफल भएको हो । दिल्लीका जनताले कांग्रेस र आपको गठबन्धनलाई स्वीकार गरेन । कांग्रेसको विरोध गरेरै जन्मेको आपले पहिलो पटक उसैसँगै गठबन्धन गरेको थियो । त्यसलाई धेरैले अस्वभाविक पनि मानेका थिए । दुवै पार्टी भित्र यस गठबन्धनप्रति असन्तुष्टि पनि देखिएको थियो । दिल्लीको चुनाव पूर्व अन्तरिम जमानतमा जेलबाट बाहिर आएका आपका संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लगातार गरेको मेहनतले पनि प्रतिफल दिन सकेन । मतदाताामाथि केजरीवालको लोकप्रिय भाषण र केन्द्रमा ‘इन्डिया’ गठबन्धनको सरकार बनेपछि देशैभर बिजुली, पानी, शिक्षा, स्वास्थ्य निःशुल्क गर्ने भाषणले काम गरेन । केजरीवालको जादु चलेन ।
सात सिटमा आपले चार र कांग्रेसले तीन सिटमा उम्मेदवारी दिएको थियो । भाजपाले सात मध्ये नर्थ इस्ट दिल्लीमा विगतमा जितेका मनोज तिवारी बाहेक सबै उम्मेदवार बदलेको थियो । भाजपाले नयाँ उम्मेदवार सारेकाले कम्तीमा दुई सिट कांग्रेस–आप गठबन्धनले लग्न सक्ने विश्लेषण थियो । तर नतिजा सम्पूर्ण रूपमा भाजपाको पक्षमा आयो ।
साउथ दिल्ली निर्वाचन क्षेत्रबाट भाजपाका रामवीर सिंह बिधुडीले जितेका छन् । उनले आपका सहीराम पहलवानलाई १ लाख २४ हजार मत अन्तरले पराजित गरेका छन् । दक्षिणी दिल्ली क्षेत्रबाट भाजपाका उम्मेदवार कमलजीत सहरावतले आपका महाबल मिश्रालाई १ लाख ९९ हजार मतले पराजित गरेकी छन् ।
नयाँ दिल्ली क्षेत्रमा बाँसुरी स्वराजलले आप नेता सोमनाथलाई ७८ हजार ३ सय ७० मतले जितेकी छन् । यस क्षेत्रमा सोमनाथले जित्ने आकलन गरिँदै आएको थियो । बाँसुरी भाजपाकी वरिष्ठ नेतृ स्वर्गीय सुषमा स्वराजकी छोरी हुन् । चाँदनी चौक लोकसभा क्षेत्रबाट भाजपाका प्रवीण खंडेवालले जितेका छन् । उनले कांग्रेस उम्मेदवार जेपी अग्रवाललाई ८९ हजार ३ सय मतले पराजित गरे । दिल्लीमा लगातार तीन पटक सबै सिट जित्ने रेकर्ड भाजपाले कायम गरेको छ ।
कांग्रेसले युवा नेता कन्हैया कुमारलाई उम्मेदवार बनाएका कारण नर्थ इस्ट दिल्ली लोकसभा क्षेत्र चर्चित बनेको थियो । त्यहाँ मनोज तिवारीले कन्हैयालाई १ लाख ३८ हजार ७ सय मतले हराउन सफल भएका छन् । तिवारी लगातार तेस्रो पटक उक्त क्षेत्रबाट निर्वाचित भएका हुन् ।
नर्थ वेस्ट दिल्ली निर्वाचन क्षेत्रबाट भाजपाका योगेन्द्र चंदोलियाले कांग्रेसका उदित राजलाई २ लाख ९० हजार मतले हराएका छन् । सबभन्दा बढी मत अन्तरले यही क्षेत्रमा भाजपा उम्मेदवारले चुनाव जितेको छ । त्यस्तै, इस्ट दिल्लीमा भाजपाका हर्ष मल्होत्रा जितेका छन् । उनलाई आप उम्मेदवार कुलदीप कुमारले कडा टक्कर दिएका थिए । यस क्षेत्रमा सबैभन्दा कम मतान्तरले भाजपा उम्मेदवारले जितेका छन् । मत अन्तर ३६ हजार ४ सय ४५ मात्रै छ ।