राजविराज, १२ साउन । जनता समाजवादी पार्टी नेपाल सप्तरीद्वारा मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानहरुको लागि विशेष राहतको प्याकेज ल्याउन माग गरेको छ । सप्तरीद्वाराजसपा जिल्ला समवन्य समिति सप्तरीद्वारा बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई बिभिन्न ७ बुँदे माग राखी ज्ञापन–पत्र बुझाएको हो ।
जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादव नेतृत्वका नेताकार्यकर्ताले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई देशको कृषि हवको रुपमा रहेको मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्नुपर्ने लगायतका ७ बुँदे मागसहितको ज्ञापन–पत्र बुझाएका छन् । ज्ञापन–पत्र बुभ्mदै प्रजिअ गौतमले जसपाले उठाएका माग जायज भएकोले तत्कालै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पठाउने प्रतिबद्धता व्यक्त गरे । उनले किसानहरूको समस्याप्रति गम्भिर रहेको बताउँदै भारतीय सीमाबाट किसानहरुले ल्याउने मलखादलाई सहज बनाएको जानकारी दिए ।
जसपा सप्तरीद्वारा बुझाएको ज्ञापन–पत्रमा मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानहरुको लागि बिशेष राहतको प्याकेज ल्याउन तीनै तहको सरकारसँग माग गरिएको छ । खडेरीले गर्दा कृषिमा आश्रित वहुसंख्यक जनताको जीवन कष्टकर बन्दै गएको अबस्थाप्रति सरकारको यथेष्ट ध्यान पुग्न सकेको छैन, ज्ञापन–पत्रमा भनिएको छ, त्यसैले देशको कृषि हवको रुपमा रहेको मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानहरुको लागि विशेष राहतको प्याकेज ल्याउन तीनै तहका सरकारसँग जनता समाजवादी पार्टी नेपाल जिल्ला समवन्य समिति सप्तरी जोडदार माग गर्दछ ।
प्रसस्त पानी नपरेका कारण धान रोपाई हुन नसकेको तथा किसानहरूले सिंचाइको बैकल्पिक उपाय गरेर लगाएको धानबाली नष्ट भएको भन्दै जसपाद्वारा बुझाएको ज्ञापन–पत्रमा किसानहरूको लागि विषेश राहत प्याकेजको व्यवस्था गर्न माग राखेकोको छ । नेपालको संविधानले खाद्य सम्बन्धि अधिकारलाई मौलिक हकको रुपमा प्रत्याभूत गरेको छ, ज्ञापन–पत्रमा भनिएको छ, देशको करिव ६३ प्रतिशत जनसंख्याको रोजगारी तथा जिविकोपार्जनको आधार कृषि हो ।
देशको ६३ प्रतिशत जनसंख्या कृषिमा आधारित छ, राष्ट्रको कूल गार्हस्थ उत्पादनमा यसको योगदान ३२ प्रतिशत रहेको छ, ज्ञापन–पत्र अगाडी भनिएको छ, कृषिजन्य उत्पादन एवम् व्यपारमा प्रतिस्पर्धा ,व्यवसयिकरण, यान्त्रिकीकरण, विद्युतीकरण आबश्यक छ, प्रयाप्त सिंचाइको व्यवस्था नभएकोले यहाँका किसानहरु वर्षाको भरमा खेती गर्न बाध्य छन्, यसपालि प्रशस्त पानी नपरेकाले धान रोपाई हुन सकेको छैन भने बैकल्पिक उपाय गरेर लगाएको धानवाली समेत नष्ट भईसकेको छ । जसपाले बुझाएको ज्ञापन–पत्रमा खडेरीले गर्दा कृषिमा आश्रित बहुसंख्यक जनताको जीवन कष्टकर बन्दै गएको अवस्थाप्रति सरकारको यथेष्ट ध्यान नपुग्नु दुर्भाग्यपूर्ण रहेको भन्दै आपत्ति जनाएको छ ।
सरकारले कृषिमा बढी जोड दिदै किसानका यावत समस्याहरुको दीर्घकालीन रुपमा समाधान नगरेसम्म सरकारले परिकल्पना गरेको सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय उद्देश्य प्राप्त गर्न सक्दैन जसपाद्वारा बुझाएको ज्ञापन–पत्रमा उल्लेख छ । किसानहरूको समस्यालाई हृदयगमन गरी जसपाले उठाएका मागहरूमाथि ध्यान पु¥याई पूरा गरियोस् भनी प्रमुख जिल्ला अधिकारीमार्फत सम्माननीय प्रधानमन्त्री समक्ष बिभिन्न माग राखी ७ बुँदे ज्ञापन–पत्र पेश गरेको जनाएको छ ।
मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानहरुलाई बिशेष राहत प्याकेजको व्यवस्था गर्नुपर्ने, किसानहरूको लागि प्रयाप्त मलखादको व्यवस्था गर्नुपर्ने, किसानहरूले बैंकबाट लिएको ऋणको व्याज मिनाहा गर्नुपर्ने, सिंचाइको लागि व्यापक रुपमा डिप बोरिङ्ग लगायतका अन्य बैकल्पिक व्यवस्था गर्नुपर्ने, सहुलियत रुपमा इन्धनको व्यवस्था गर्नुपर्ने, कृषि विद्युतीकरणको व्यवस्था गर्नुपर्ने, कृषि मिटर उपलब्ध गराई विद्युत महुसुल निशुल्क गर्नुपर्नेलगायतका माग जसपाद्वारा बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
जसपाले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेर बहादुर देउवा, मधेश प्रदेश सरकार र मधेश प्रदेशका सम्पूर्ण स्थानीय सरकारलाई एकसाथ ज्ञापन–पत्र बुझाएको जनता समाजवादी पार्टी सप्तरीका सचिव हरेराम यादवले जानकारी दिए ।