राजविराज, १५ चैत । सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गर्न सघाएको भन्दै अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा तालाबन्दी गरेको छ ।
गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले उक्त कार्य गरेको विरोधमा बिहीबार एम संघर्ष समितिले गाउँपालिका कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको हाे ।
संघर्ष समितिका संयोजक अरुण कुमार चौधरीको नेतृत्वमा पुगेका समितिका पदाधिकारी तथा स्थानीयबासीले गाउँपालिकाको मुल गेटमा ताला लगाएर गाउँपालिका अगाडि धर्ना दिएका छन् ।
गाउँपालिका अध्यक्ष चौधरीको स्वेच्छाचारी निर्णयबाट व्यक्तिको नाउँमा पास भएको इटहर्वा बजार कलौनी सितापुरको सार्वजनिक जग्गा फिर्ता नभएसम्म तालाबन्दीसहितका आन्दोलनको कार्यक्रम जारी राख्ने समितिका संयोजक चौधरीले बताए ।
यसअघि कार्यपालिकाको निर्णय विपरीत गाउँपालिका अध्यक्ष चौधरीले मालपोत कार्यालय सप्तरीलाई जग्गा रोक्का तथा चारकिल्ला सिफारिस गरिएकोले संशोधनसहित जग्गा रोक्का राख्ने सहितका आफुहरुसित भएको सम्झौता विपरीत व्यक्तिको नाउँमा सार्वजनिक जग्गा पास गरेको विरुद्धमा आन्दोनमा उत्रिनु बाध्य भएको उनले जानकारी दिए ।
गाउँपालिका कार्यालयमा विहान १० बजे तालाबन्दी भएपछि कार्यालय आएका कर्मचारीहरु बाहिरै बसेका छन् भने कतिपय कर्मचारीहरु घर फिर्ता भएका छन् । तालाबन्दीका कारण गाउँपालिकाको सम्पुर्ण सेवा प्रभावित भएको छ ।
आन्दोलनका कार्यक्रम अन्तर्गत आधा घण्टा पुर्वपश्चिम राजमार्ग अवरुद्ध गर्ने कार्यक्रम समेत रहेको संघर्ष समितिका सल्लाहकार तुलसी चौधरीले जानकारी दिए । उनले संकेतिक रुपमा बिहीवार साढे १२ बजेदेखि १ बजेसम्म सडक अवरुद्ध गर्ने र यसलाई निरन्तरता दिदै प्रतिदिन आधाघण्टा बढाएर सडक जाम गरिने जानकारी दिए ।
फागुन १५ गते अध्यक्ष चौधरीले अध्यक्षतामा बसेको कार्यपालिका बैठकद्वारा इटहर्वा बजारको जग्गा रोक्का सिफारिस संशोधनसहित रोक्का कायम राख्ने र उक्त जानकारी मालपोत कार्यालय सप्तरीलाई गराउने निर्णय भएपछि सोही अनुरुप फागुन १६ गते आन्दोलनरत पक्षसँग सहमति समेत भएको थियो ।
सहमति कार्यान्वयनबाट पछि हट्दै अध्यक्ष चौधरीले मालपोत कार्यालयलाई पत्र नपठाएपछी उक्त जग्गा चैत २ गते व्यक्तिको नाउँमा पास भएको संघर्ष समितिका सदस्य सचिब एवम् इटहर्वा बजार व्यावस्थापन समितिका अध्यक्ष मिलन चौधरीले जानकारी दिए ।