काठमाडौं : आइसीसी विश्वकप लिग–२ को जारी सिरिजमा नेपालले लगातार दोस्रो पराजय व्यहोरेको छ। युएईमा जारी खेलमा नेपाल ५ विकेटले पराजित भएको हो।
युएईको आइसीसी क्रिकेट एकेडेमी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २३३ रन बनायो। २३४ रनको लक्ष्य पछ्याएको घरेलु टोली युएईले ४३.३ ओभरमै ५ विकेटको क्षतिमा २३७ रन बनाएर सहज जीत दर्ता गर्यो।
युएईका ओपनर आर्यान्स शर्माले ९८ रनको उत्कृष्ट पारी खेले। उनले ९७ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै टोलीलाई विजयको नजिक पुर्याए। उनको बलियो पारीका कारण नेपाली बलरहरूले दबाब सिर्जना गर्न सकेनन्।
युएईको पहिलो विकेट ६३ रनमा अलिशान सर्राफु (४५ रन) क्याच आउट भएपछि खसेको थियो। दोस्रो विकेटका रूपमा सोयब खान शून्य रनमा आउट भए। त्यसपछि कप्तान राहुल चोपरा चोटका कारण रिटायर्ड हर्ट भए। कुशल भुर्तेलले मोहम्मद वसिमलाई रनआउट गर्दै चौथो विकेट खसाल्दा युएईको स्कोर ११८ रन पुगेको थियो।
नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए भने करण केसी र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट हात पारे।
यसअघि ब्याटिङमा उत्रिएको नेपालका कप्तान रोहित पौडेलले १३० बलमा ५ चौका र २ छक्कासहित १०९ रनको शानदार शतक प्रहार गरे। ओपनर आसिफ शेखले ३५ रन र आरिफ शेखले २७ रन जोडे। आरिफ र रोहितले चौथो विकेटका लागि ७० रनको महत्वपूर्ण साझेदारी गरे।
दीपेन्द्र सिंह ऐरी रनआउट हुँदै पाँचौं विकेटको रूपमा आउट भए। उनले कप्तानसँग ५४ रनको साझेदारी गरेका थिए। त्यसपछि आएका गुल्सन झा बिना रन आउट भए, सोमपाल कामी ६ रनमा बोल्ड, करण केसी १३ रनमा क्याच र ललित राजवंशी अन्तिम बलमा क्याच आउट भएपछि नेपाल ५० ओभर नपुग्दै अलआउट भयो।
बलिङतर्फ युएईका जहिद अलिले ४ विकेट लिए। जुनैद सिद्धिकीले ३ विकेट, मोहम्मद रोहिद र हैदर अलिले १–१ विकेट हात पारे।
नेपाल यसअघि पनि सिरिजको पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित भएको थियो। लगातार दोस्रो हारसँगै नेपाल दबाबमा परेको छ।