राजबिराज, २९ कार्तिक । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अदालत जलाउने, तोडफोड गर्ने र क्षति पुर्याउने जो–कसैलाई पनि उन्मुक्ति दिन नहुने बताएका छन ।
जेनजी आन्दोलनका क्रममा सप्तरी जिल्ला अदालतमा पुगेको क्षति अवलोकन गर्न राजविराज आएका राउतले दोषी पहिचान गरी कारबाही अघि बढाउनुपर्ने बताएका हुन ।
‘अदालत जनताको सम्पत्ति हो, यसलाई जलाउने वा नष्ट गर्नेले उन्मुक्ति पाउनु हुँदैन,’ राउतले भने, ‘यस्ता घटनामा अनुसन्धान हुनुपर्छ, प्रहरीसमक्ष जाहेरी पनि परिसकेको छ।’
उहाँका अनुसार जेनजी आन्दोलनका क्रममा देशभरका अदालतहरूमा भएको आगलागी र तोडफोडबाट करिब अढाई अर्ब रुपैयाँबराबरको क्षति पुगेको छ। ‘यो २०७४/७५ तिरको मूल्याङ्कन हो, हालको मूल्यमा यो क्षति अझै बढी हुन्छ,’ उहाँले बताए।
राउतले अदालतमा जलेका मिसिलहरूको पुनःसञ्चालन भइरहेको र त्यसले मुद्दा निर्णयमा समस्या नपर्ने स्पष्ट पारे। उच्च बार एशोसिएशन, राजविराजले आयोजित स्वागत समारोहमा बोल्दै देबानी प्रकृतिका मुद्दामा कागजपत्र नपाए मिलापत्रको प्रयास प्रभावकारी हुने सुझाव पनि दिए।
‘कागजात नभेटिए पनि मिसिल खडा हुन नसकेका मुद्दामा तपाईँ कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण हुन्छ,’ उनले भने, ‘मिलापत्रको प्रयत्नबाट यस्ता मुद्दा वैधानिक रूपमा समाधान हुन सक्छ।’