फोहोरमैला व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय तहको भूमिका उल्लेख गर्दै नागरिकको दायित्व अभिवृद्धि गर्ने उपायहरू उल्लेख गर्नुहोस् ।
? फोहोरमैलाको न्यून उत्पादन, पुनः प्रयोग, पुनः चक्रण एवं उचित विसर्जनको माध्यमबाट ठोस फोहोरमैलालाई व्यवस्थित गर्दै वातावरण र मानव स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्ने कार्यको समष्टिलाई फोहोरमैला व्यवस्थापन भनिन्छ ।
? सरकार, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, आम नागरिक सबैको सहकार्य र समन्वयबाट फोहोरमैला व्यवस्थित गर्न सकिन्छ ।
? फोहोरमैला व्यवस्थापनको विषयमा नेपालको सङ्घीय संरचनामा सङ्घ, प्रदेश र स्थानीय तहको भूमिका देहाय अनुसार रहन्छ :
? नेपाल सरकारको भूमिका नीति, कानुन, मापदण्ड निर्माण, अध्ययन अनुसन्धान र प्राविधिक सहयोग, वैदेशिक सहायता परिचालनजस्ता कार्यमा केन्द्रित रहन्छ ।
? फोहोरमैला व्यवस्थापनसम्बन्धी पूर्वाधार निर्माणमा सहलगानी र स्थानीय तहबीच समन्वय गर्ने भूमिका प्रदेशहरूको रहन्छ ।
? फोहोरमैलाको सङ्कलन, विसर्जन तथा प्रशोधनका लागि आवश्यक पर्ने पूर्वाधारको निर्माण एवं सञ्चालनसम्बन्धी जिम्मेवारी स्थानीय तहमा रहन्छ बढ्दो उपभोगवादी संस्कृति, सुविधाभोगी मनोवृत्ति र सहरकेन्द्रित बसोबासबाट सहरी इलाका र बजार उन्मुख ग्रामीण इलाकामा फोहोरमैला व्यवस्थापन चुनौतीका रूपमा रहिआएको छ । यसलाई सामना गर्न नागरिकस्तरबाट फोहोरमैला व्यवस्थापनमा सहयोग र सहभागिता अपरिहार्य छ । यसका लागि आम नागरिकमा दायित्वबोध गराउनु आवश्यक छ ।
नागरिकको दायित्वलाई देहायबमोजिमका उपायबाट अभिवृद्धि गर्न सकिन्छ :-
? फोहोरमैलाको न्यूनीकरण, वर्गीकरण र निष्कासनमा नागरिक दायित्व सम्बन्धमा सचेतना अभियान सञ्चालन गर्ने,
? फोहोरमैला व्यवस्थापनसम्बन्धी सचेतना
अभिवृद्धिमा सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गर्ने,
? फोहोरमैला व्यवस्थापनसम्बन्धी असल अभ्यासको आदानप्रदान र समुदाय स्तरसम्म प्रचारप्रसार गर्न टोलटोलमा अन्तर्क्रिया गर्ने,
? फोहोरमैला व्यवस्थापनमा घरपरिवार, समुदाय, टोल विकास संस्था, राजनीतिक सङ्गठन र सञ्जाल, आमा समूह, युवा क्लब, बाल क्लब, विद्यालय आदिको सहभागिता र सहकार्यलाई प्रोत्साहन गर्ने,
? विद्यालय शिक्षा र अनौपचारिक शिक्षाको पाठ् यक्रममा फोहोरमैला व्यवस्थापनसम्बन्धी सचेतनामूलक विषयवस्तु समावेश गरी जनचेतना अभिवृद्धिलाई संस्थागत गर्दै लैजाने,
? फोहोरमैलाको समग्र व्यवस्थापनमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणलाई मूलप्रवाहीकरण गर्दै लैजाने,
? प्रदुषकले तिर्नुपर्ने सिद्धान्तलाई कडाइका साथ कार्यान्वयन गर्ने । सार्वजनिक स्थलमा फोहोर विसर्जन गर्ने, कानुन उल्लङ्घन एवं अटेरी गर्नेलाई दण्डात्मक उपायको अवलम्बन गर्ने ।
फोहोरमैला व्यवस्थापन सरकारको मात्र दायित्व नभई प्रत्येक नागरिकको कर्तव्य पनि हो । स्थानीय तहहरूले निजी उद्योगी तथा व्यवसायी, गैरसरकारी सङ्घसंस्थाहरू तथा आम नागरिकसँगको सहकार्य र समन्वयबाट फोहोरमैला व्यवस्थापनमा मितव्ययितता, कार्यदक्षता, प्रभावकारिता र दिगोपना हासिल गर्न सक्दछन् ।