जनकपुरधाम, ४ बैशाख । मधेस प्रदेशमा प्रतिपक्षी मुख्य तीन दलको बहिष्कारका बाबजुद मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिएका छन् ।
मुख्यमन्त्री यादवले विश्वासको मतका लागि पेस गरिएको प्रस्तावको पक्षमा ६१ र विपक्षमा जिरो मत खसेको सभामुख मण्डलले घोषणा गरे । उहाँका अनुसार कुल १०७ सांसदमध्ये प्रदेशसभामा ६१ सांसद उपस्थित थिए ।
जनमत पार्टी र नेपाली काँग्रेसको अवरोधका कारण दुई पटक प्रदेशसभा बैठक स्थगित भएको थियो । बैठक स्थगित गरेर सहमतीको प्रयास गर्दा पनि कुरा नमिलेपछि सभामुख रामचन्द्र मण्डलले तेस्रो पटक बैठक बोलाए ।
उहाँले बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने सम्बन्धी राखेको प्रस्तावको कारबाही अगाडी बढाउदा जनमत पार्टी र नेपाली काँग्रेसका साँसदहरु बहिष्कार गरे । त्यसपछि बैठक स्थगत गर्न लोसपाले माग राख्यो तर सभामुख मण्डलले बैठक स्थगन गर्न नमानेपछि लोसपाका साँसदहरु पनि बहिष्कार गरेका थिए ।
जनमतले सप्तरीकाे राजविराजमा मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास समारोहमा मन्त्रीमाथि भएको हमलाको विषयमा छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने माग राखेर बैठक अवरुद्ध गरेको थियो । जनमतको मागमा काँग्रेस र लोसपाले समर्थन जनाएको छ ।