पाताे सप्तरी, २९ पुस । सप्तरीको डाक्नेश्वरी नगरपालिका स्वास्थ्यकर्मीहरूले औषधिको अभाव, कर्मचारी सरुवा तथा स्तरवृद्धिमा भएको मनपरी निर्णयको विरोधमा आन्दाेलित भएका छन् ।
मंगलबार नगरपालिका अन्तर्गतका ११ वटै स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुले नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार मण्डललाई ज्ञापनपत्र बुझाएको हाे ।
ओैषधी खरिद हुनु अगावै भरपाइ गर्नुपर्ने, भरपाई नगरिदिए पछि हामी १२ जना स्वास्थ्यकर्मीलाई कर्मचारी समायोजन भएकै बेला बिना आधार र पूर्वाग्रही ढंगले कर्मचारीहरूको सामूहिक सरुवा गरेको सिअहेवअ उमेश कुमार साहले आराेप लगाएका छन्।
लेनदेन र पहुँचका आधारमा कर्मचारीको स्तरवृद्धि मूल्यांकन गरिएको भन्दै त्यसले हाम्रो मनोबल गिराएको जस्वानि स्वास्थ चाैकी पाताेका सुरेन्द्र प्रसाद यादवले गुनासो गरे ।
ज्ञापनपत्रअनुसार आर्थिक वर्ष २०८२/०८३ सुरु भइसक्दा पनि पालिकाभित्र रहेका ११ वटै स्वास्थ्य चौकीमा हालसम्म आवश्यक औषधि उपलब्ध गराइएको छैन। औषधिको अभावका कारण सर्वसाधारण सेवाग्राहीको आक्रोश र अपमान सहनुपरेको तथा मानसिक तनावमा काम गर्न बाध्य भएको स्वास्थ्यकर्मीहरूको गुनासो छ।
स्वास्थ्य शाखा सह–संयोजक महेश कुमार पण्डितले औषधि वितरण नगरी ‘औषधि बुझिलिएको’ भन्दै भरपाईमा हस्ताक्षर गराउन खोजेको आरोप समेत ज्ञापनपत्रमा उल्लेख छ। स्वास्थ्यकर्मीहरूले औषधि वास्तविक रूपमा उपलब्ध भएपछि मात्र भरपाईमा हस्ताक्षर गर्ने स्पष्ट अडान लिएका छन्।
औषधिको चरम अभावका कारण केही स्वास्थ्य चौकी बन्द हुने अवस्थासमेत सिर्जना भएको जनाउँदै स्वास्थ्यकर्मीहरूले तत्काल सबै स्वास्थ्य चौकीमा औषधि आपूर्ति सुनिश्चित गर्न माग गरेका छन्। साथै, राजनीतिक आस्था र व्यक्तिगत पूर्वाग्रहका आधारमा गरिएको सामूहिक सरुवा दुई दिनभित्र सच्याउन नगरपालिकालाई अल्टिमेटम दिइएको छ।
यता प्रमुख प्रशासकीय अधिकृत मण्डलकाे अनुसार स्वास्थ्यकर्मीहरुले लगाएको सम्पुर्ण आराेप निराधार रहेको बताउनु भयाे । साथै राष्टसेवक कर्मचारीहरुकाे सरुवा बढुवा नियमित प्रक्रिया भएको बताउनु भयो ।