राजबिराज, २२ माघ । राजविराजमा सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता (पुरुष) अन्तर्गतको उद्घाटन खेलमा सिरहाले सशक्त प्रदर्शन गर्दै महोत्तरीलाई ७ विकेटले पराजित गरेको छ।
बिहीबार सप्तरी क्रिकेट संघको आयोजनामा राजविराजस्थित पविमावि खेलमैदानमा सम्पन्न खेलमा सिरहाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। सिरहाको कडा र सन्तुलित बलिङ आक्रमणअगाडि महोत्तरीको ब्याटिङ कमजोर सावित भयो।
पहिले ब्याटिङ गरेको महोत्तरीले ३० ओभर ३ बलमै सबै विकेट गुमाउँदै १३४ रनको सामान्य योगफलमा सीमित रह्यो। महोत्तरीका लागि रबि कुमार सिंहले सर्वाधिक ४४ रन बनाए भने नवीन कुमार यादवले ३८ रनको योगदान दिए। त्यस्तै, आदित्य मण्डलले १४ रन र नितेश यादवले ११ रन जोडे। अन्य ब्याटरहरू लामो समय टिक्न नसक्दा महोत्तरी ठूलो स्कोर बनाउन असफल रह्यो।
सिरहाको बलिङतर्फ अफरूद्विन रायन उत्कृष्ट देखिए। उनले ३ विकेट लिँदै महोत्तरीको मध्यक्रम धराशायी बनाए। त्यस्तै, रूपेश सिंह र प्रदीप पासवानले समान २–२ विकेट लिए भने नुमर अहमदले १ विकेट हात पारे।
१३५ रनको लक्ष्य पछ्याएको सिरहाले २६ ओभर ५ बलमा मात्र ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। सिरहाका लागि कृष्णा गुप्ताले ५६ रनको अविजित उत्कृष्ट पारी खेल्दै टोलीलाई जिततर्फ डो¥याए। उनलाई राकेश कामतीले ३२ रन बनाएर राम्रो साथ दिए।
महोत्तरीको बलिङतर्फ आकाश मण्डलले २ विकेट लिए भने राजिव सदाले १ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका सिरहाका अफरूद्विन रायन ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनलाई अन्तर्राष्ट्रिय क्रिकेटर दिपेन्द्र चौधरीले नगद १ हजार ५ सय रुपैयाँसहित कप प्रदान गरेका थिए।
सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादवका अनुसार प्रतियोगिता अन्तर्गत शुक्रबार धनुषा र महोत्तरीबीच प्रतिस्पर्धा हुने छ।
प्रदेशस्तरीय छनोट प्रतियोगिताले स्थानीय खेलाडीलाई राष्ट्रियस्तरमा पहिचान दिलाउने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्। प्रतियोगिताबाट छनोट हुने खेलाडीहरूले आगामी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछन्।