राजबिराज, २१ चैत । सप्तरीको डाक्नेश्वरी नगरपालिकाले ध्वनि प्रदुषणले मानिसको स्वास्थ्यमा पर्ने प्रतिकुल असरका कारण डिजे साउण्ड सिस्टमलाई प्रतिबन्ध गरेको छ ।
बुधबार डाक्नेश्वरी नगर कार्यपालिकाको कार्यालयले एक सुचना जानकारी गर्दै यस्तो प्रतिबन्ध लगाएको हाे ।
मधेश प्रदेश अन्तर्गतका विभिन्न स्थानमा विभिन्न कार्यक्रममा ठूला आवाजमा बजाइने डि.जे. साउण्ड सिस्टमले ध्वनि प्रदुषण भई स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको र सो सम्बन्धमा जनगुनासोहरु आईरहेको हुँदा सो कार्यलाई रोक्न मधेश प्रदेश सुरक्षा समन्वय समितिको बैठकबाट भएको निर्णय कार्यान्वयन गर्नु/गराउन भनी मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयको प.सं. २०८०/०८१, च.नं. १२५३ र मिति २०८०।१२।२१ गतेको पत्र प्राप्त भएकोले सो कार्य नगर्न/नगराउनका लागि सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ ।
नगरपालिकाकाकाे प्रमुख प्रशासकीय अधिकृत कुन्दन कुमार कर्णकाे हस्ताक्षर रहेको उक्त सुचनापत्र मार्फत यस्तो कार्य नगर्न र नगराउन आग्रह समेत गरिएको छ ।
त्यसैगरी राजविराजमा पछिल्लो पटक अध्यधिक ध्यवनी प्रदुषण गराइएको छ । आफ्नो घरमा हुने पूजापाठ समेत ठूलो आवाजमा सुनाइने गरिएको छ । बिहान साढे ४ बजे यहाँका मस्जिदमा ठूलो स्वरमा साउण्ड सिस्टम बजाउने गरिन्छ भने दिनभर पुरान, यज्ञस्थलमा चर्काे आवाजमा साउण्ड बजाउँदा जनजीवन कष्टकर बनेको छ ।
चर्काे साउण्डका कारण मुटु रोग, कान सम्बन्धीसहित बिभिन्न रोग लाग्ने गरेको बुझ्दाबुझ्दै पनि यहाँ ध्वनी प्रदुषण गराउनेको संख्या बढ्दै गएको छ ।