२०८२ साल ब‌ैशाख ३१ गते बुधबार

मलाह समुदायले २० बुँदे माँग राख्दै गरे आन्दोलनको घाेषणा

राजबिराज , ७ माघ ।  मलाह समुदायले मत्सय मन्त्रालय स्थापना देखी जलसेना गठन गरी ५० प्रतिशत मलाह समुदायका युवालाई राख्नु पर्ने लगायतका २० बुंदे माँग अधि सार्दै आन्दोलन गर्ने घोषणा गरेका छन ।

मलाह  जातीको जातीय संगठन नेपाल मलाह कल्याण संघले सोमवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो घोषणा गरेका हुन । 

नेपाल मलाह कल्याण संघका केन्द्रीय अध्यक्ष नारायण मुखियाले माघ २५  देखी सप्तरी र सुनसरीको सिमानामा पर्ने कोशी ब्यारेज क्षेत्रमा अनिश्चितकालिन धर्ना र रिले अनसनको गर्ने सम्मेलनमा जानकारी दिए ।

आन्दोलनका लागी कोशी ब्यारेजमा झापा देखी पर्सा सम्मका मलाह समुदायका अगुवा भेला हुने तय भएको उनले भने । मलाह जातीले ६० वर्ष उमेर सीमामा समाजिक सुरक्षा भत्ता खाइपाई आईरहेकोमा राष्ट्रिय दलित आयोगको  सिफारिसमा हाल उक्त सेवा सुविधा रोक्का गरिएकाले सो सेवा पुनः सुचारु हुनु पर्ने, सरकारले ठेक्का लगाउदै आएको सार्वजनिक पोखरी, नदी, दह, खोलानाला, तालतलैया, तारघाट र नदीमा बगी आएको काठ, दाउरा संकलन लगायतका ठेक्का कार्य मलाह जातिलाई मात्र उपलब्ध गराइनु पर्ने मलाह कल्याण संघले प्रमुख मागका रुपमा उठाएका छन ।

यस्तै सरकारी स्वामित्वमा रहेका मत्सय फार्महरु, सीमसार र रिजभ्र्यार आदीमा मलाह जातीलाई ५० प्रतिशत आरक्षण, संघीय र सात वटै प्रदेशमा मत्सय मन्त्रालयको स्थापना गरी आवश्यक कर्मचारी भर्नामा मलाह जातीलाई प्राथमिक्ता र जलसेनाको स्थापना गरी मलाह जातीबाट ५० प्रतिशत सैनिक जवान रहने गरी कानूनी व्यवस्था  गर्न माँग गरिएको छ ।

मलाह जातीको बालबालिकालाई स्नाकोत्तर सम्मको निःशुल्क शिक्षा, जग्गा विहीनलाई जग्गाको ब्यवस्था, निःशुल्क उपचारको व्यवस्था लगायतका २० बुंदे मांग अघि सारिएको पत्रकार सम्मेलनमा नेपाल मलाह कल्याण संघ सप्तरीका अध्यक्ष पञ्च लाल मुखियाले जानकारी दिए ।

२० बुंदे माग राखेर यस अघि पनि २०६४ साल देखी पटक/पटक तत्कालिन सरकारका प्रमुखलाई ज्ञापन पत्र बुझाए पनि आश्वासन बाहेक केही नपाइएको पत्रकार सम्मेलनमा संघका केन्द्रिय अध्यक्ष मुखियाले जानकारी दिए ।

पछिल्लो पटक पुष १८ गते प्रधानमन्त्री, गृहमन्त्री लगायतका सरोकारवाला निकायका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाइए पनि माँग सम्बोधनको कुनै पहल नभएकाले बाध्य भई संघर्षको बाटो रोज्नु परेको पत्रकार सम्मेलनमा संघको केन्द्रिय उपाध्यक्ष अशोक कुमार मुखियाले बताए ।

उनले मलाह जातीको मुृख्य पेशा नै माछा मार्ने, डुङ्गा चलाउने तथा पानीमा मखान उत्पादन गरी गुजारा चलाउने रहेको भन्दै ९९ प्रतिशत मलाह जातीको आफ्नो जग्गा जमिन समेत न रहेको सुनाए ।

पछिल्लो चरणमा अनिश्चितकालिन रिले अनशन सूरु गरिने र त्यसबाट पनि सुनवाई नभए दोश्रो चरणमा आन्दोलनका सशसक्त कार्यक्रमहरु अघि बढाइने तयारी भइरहेको संघले जनाएको छ ।  पत्रकार सम्मेलनमा संघका केन्द्रिय समितीका पदाधीकारी संगै झापा देखी पर्सा सम्मका जिल्ला समितिका पदाधीकारी र मलाह जातीको अगुवाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया