राजबिराज , २६ मंसिर । शिलान्यास भए पनि २ वर्ष देखि अलपत्र रहेको रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरीमा विशाल प्रदर्शन गरिएको छ ।
सप्तरी युथ नेपालकाे आयोजनामा एक साता देखि प्रतिष्ठान निर्माणको माग गर्दै हस्ताक्षर संकलन गरेको मंगलबार अन्तिमदिन १० हजार हस्ताक्षर संकलन भएपछि बिहान हस्ताक्षरसहित प्रदर्शन गरिएको हाे ।
स्थानीय पानी ट्यांकी चोकबाट निकालिएको जुलुस नगरको बिभिन्न भाग परिक्रमा गर्दै पुनः सोही ठाउँमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभाका बक्ताहरुले जिल्लाका राजनीतिक दलका नेता एवं संघीय तथा प्रदेश जनप्रतिनिधीले यसतर्फ कुनै चासो नदेखाएको भन्दै रोष प्रकट गरे ।
बक्ताहरुले बनेको संरचनामा राजनीति गर्न खोज्ने र सरकारले नै घोषणा गरी शिलान्यास गरेको संरचना अगाडि बढाउन कुन ध्यान नदिने यहाँका जनप्रतिनिधी र राजनीतिज्ञलाई जनताले बाइपास गर्न सक्ने चेतावनी दिए ।
कोणसभालाई सम्बोधन गर्दै राजविराज नगरपालिकाका कार्यबाहक मेयर इसरत परबिनले नेपाल सरकारका प्रधानमन्त्रीले शिलान्यास गरिसकेको संरचना निर्माणतर्फ अघि नबढ्नु दुःखद रहेको बताइन् । उहाँले युवाहरु अघि बढिसकेको र सरकारले समयमै ध्यान नदिए ठूलो आन्दोलन हुन सक्ने भएकाले सरकार गम्भीर बन्नुपर्ने बताइन् ।
कोणसभामा राजविराज नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ८ का अध्यक्ष जयनारायण मण्डल, वडा नम्बर २ का अध्यक्ष अरुण यादव, वडा नम्बर ७ का अध्यक्ष सुभाष यादव, जसपाका युवा नेता नवनीत झा, मविव क्याम्पसका स्वबियू सभापति रंजित यादव, सप्तरी युृथ नेपालका कार्यबाहक अध्यक्ष मोहन यादवसहितकाले बोलेका थिए ।
सप्तरी युथ नपालको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवको अध्यक्षतामा भएको कोणसभाको संचालन अनिल यादवले गरेका थिए ।
मंगलबारको प्रदर्शनमा मिसन कलेज, युनिभर्सल, पाराडाइज, छिन्नमस्ता, उदयपुर टेक्निकल, सरस्वती एकेडेमी, पिसजनका विद्यार्थीले स्वतस्फूर्त रुपमा सहभागिता जनाएका छन् ।
२०७८ साल असार २२ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राजविराज नगरपालिका १० बिरौलमा भर्चुअल माध्यमबाट प्रतिष्ठानको शिलान्यास गरेका थिए । तर, प्रतिष्ठान निर्माणको काम अघि बढ्न नसक्दा युवा आक्रोशित बनेका छन् ।