२०८३ साल जेठ २७ गते बुधबार

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनका लागि प्रधानमन्त्रीलाई ज्ञापन

कृष्ण मण्डल 

काठमाडौ, २९ भदौ । रामराजाप्रसाद सिंह स्वास्थ विज्ञान प्रतिष्ठान संचालनका लागि गम्भीर बन्न प्रधानमन्त्रीसँग आग्रह गरिएको छ । 

सप्तरीका बिभिन्न क्षेत्रका व्यक्तिले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन बुझाउँदै यस्तो आग्रह गरेका हुन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्यूनिष्ट पार्टी एमालेको पोलिटब्युरो सदस्य कमरेड सुमन प्याकुरेलको नेतृत्वमा प्रतिष्ठानको अध्यक्ष पशुपति चौधरी, जिल्लाका सर्वदलीय पार्टीका नेता र पत्रकार लगायतको व्यक्तिहरुको उपस्थितिमा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी ऐन संघीय संसदबाट अबिलम्ब पारित गराई काम अगाडि बढाउन ज्ञापनमा आग्रह गरिएको छ । 

रामराजाप्रसाद सिंह स्वास्थ विज्ञान प्रतिष्ठानमा चिकित्सा पढाइ संचालनका लागि कानुनीसहितको जटिलता हटाउन ज्ञापनमा भनिएको छ । 

प्रधानमन्त्री ओलीले यी सबै कानुनी जटिलता हटाइने प्रतिबद्धता जनाए । आवश्यक बजेट, शिक्षा मन्त्रालयको सम्बन्धन, आवश्यक चिकित्सक, बजेटको व्यवस्था समेत एकैपटक गर्ने उनले बताए । ‘छुट्टाछुट्टै काम गर्दा राम्रो हुँदैन्’ उनले भने, ‘सबै काम एकैपटक गराउनेगरी काम गराउँछु ।’

ज्ञापन बुझ्ने क्रममा प्रधानमन्त्री ओलीले यहाँका चिकित्सकहरु मानवीय संवेदना छाडेर पैसाको पछि लागिरहेको बताए । ‘आफू अमेरिकामा पाँच दिन उपचार गराउँदा शुरुमा कुनै पैसाको कुरा नै गरेन् । उपचार सकिएपछि मात्रै बिल ल्यायो’ उनले भने, ‘अहिले हाम्रो यहाँ यस्तो छैन् । यहाँ उपचारभन्दा पहिला पैसा खोजिन्छ । यो राम्रो होइन् ।’

ज्ञापन बुझाउने टोलीमा सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का सांसद दिनेश कुमार यादव, राष्ट्र सभा सदस्य शेखर कुमार सिंह, एमालेका सप्तरी जिल्ला अध्यक्ष ताराकान्त चौधरी, राष्ट्रिय योजना आयोगका पुर्व सदस्य जयकान्त राउत, जसपाको केन्द्रीय सदस्य भीमराज यादव, बिष्णुपुर गाउँपालिका अध्यक्ष उमेश कुमार यादव, पत्रकार कृष्ण मण्डल, गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेसु नागेन्द्र यादव, जसपा नेता दिनेश कुमार यादव, केदार यादव लगायत ३ दर्जनभन्दा बढी व्यक्तिहरुको सहभागिता थियोे ।

प्रतिक्रिया