२०८३ साल ब‌ैशाख ५ गते शनिवार

छिन्नमस्तामा तेस्रो राष्ट्रिय अध्यक्ष कप भलिवल प्रतियोगिता शुरु

सखडा, २० असाेज । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा तेस्रो राष्ट्रिय अध्यक्ष कप भलिवल प्रतियोगिता शुरु भएको छ । 

गाउँपालिकाको वडा नम्बर ३ स्थित सखडा बजारमा शनिबारदेखि शुरु भएको प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती, गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले संयुक्त रुपमा रिबन काटेर तथा भलिवल उचालेर उद्घाटन गरेका छन् । 

त्यस अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी मंग्रातीले खेलकुद पनि विकासको अंग भएकाले सबैले यसलाई प्राथमिकता दिनुपर्ने बताए । युवालाई खेलकुदमा सहभागी गराइराख्नुपर्ने बताउँदै उनले यसले शारीरिक र मानसिक दुबै स्वस्थ्य रहने बताए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले आफू निर्वाचित भएर आएपछि प्रत्येक बर्ष यो प्रतियोगिताको आयोजना गर्न थालिएको बताए ।  
उनले खेलकुदको विकासलाई पनि अन्य विकाससँगसँगै अघि बढाउन गाउँपालिका लागिपरेको बताउँदै यसमा सबैले सहयोग गर्नुपर्ने बताए । ‘अन्य विकास सँगसँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेका छौं’ उनले भने ।

नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवले भलिवल सँगसँगै अन्य खेलको प्रतियोगिता आयोजना गर्न पनि सुझाव दिए । 

गाउँपालिका अध्यक्ष चौधरीको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन कार्यक्रममा छिन्नमस्ता मन्दिरका पिठाधीश महाकान्त ठाकुर, मैथिली साहित्य परिषद्का अध्यक्ष अवधेश झासहितकाले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रमको संचालन स्थानीय युवा रबी रायले गरेका थिए । 
आठ वटा टिमको सहभागिता रहेको प्रतियोगिता आगामी असोज २६ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताको विजयी टिमलाई रु १ लाख एक हजार र उप विजेता टिमलाई रु ५१ हजार नगद पुरस्कारसहित ट्रफी र प्रमाण पत्र बितरण गरिने आयोजक छिन्नमस्ता गाउँपालिकाले जनाएको छ ।

उदघाटन खेल प्रहरी तालिम केन्द्र राजबिराज र छिन्नमस्ता बी टिम भएकोमा तालिम केन्द्र बिजेता भएको हाे ।

प्रतिक्रिया